२७ असार २०८३, शनिबार

अझै टेकोका भरमा घर

माघ ३, २०७६
अझै टेकोका भरमा घर
तस्वीर सौजन्य: गोरखापत्र दैनिक

यट्खास्थित कन्या माध्यमिक विद्यालयमा पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दो छ । भूकम्पले क्षति पुगेर विद्यालय भवनमा रातो स्टिकर लागेपछि अस्थायी सिकाइ केन्द्र (टीएलसी) बनाएर पठनपाठन सुचारु गरिएको थियो ।

केही समयपछि टीएलसीमा पानी चुहिने, विद्यार्थीलाई चिसो लाग्ने, कीराफट्याङ्ग्राले दुःख दिने भएपछि विद्यार्थी धमाधम अन्य विद्यालयमा भर्ना भएर जान थाले । विद्यार्थी भाग्न थालेपछि विद्यालयले फेरि पुरानै भवनमा पठनपाठन गर्दै आएको छ ।

“स्कुल नै रित्तिन्छ कि भन्ने चिन्ता लागेपछि हामीले माथिल्लो निकायको स्वीकृति लिएर फेरि यही भवनमा पढाउन थालेका छौँ,” विद्यालयमा २० वर्षदेखि काम गर्दै आउनुभएका कर्मचारी महन्तलाल महर्जनले भने।

विसं १९८० मा स्थापना भएको यो विद्यालयमा अहिले एक सय जनाभन्दा बढी विद्यार्थी रातो स्टिकर लागेको यस भवनमा पढिरहेका छन् । भवन निर्माणसम्बन्धी मापदण्ड अपुग हुँदा यस भवनले पुनःनिर्माणको इजाजत नपाएको उनको भनाइ छ । विद्यालयको साढे चार तलाको भवनको पुनःनिर्माण वा प्रबलीकरण अनिश्चित हुँदा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीको शैक्षिक भविष्यमा असर पर्ने स्कुल परिवारको चिन्ता छ ।

काठमाडौँ–२२ स्थित जनबहालमा लोकेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको मन्दिर छ । त्यस मन्दिर वरपर रैथाने बासिन्दाका पुराना घरहरू निकै जर्जर अवस्थामा छन् । २०७२ को भूकम्पमा क्षति पुगेका निजी घरहरू अझै पुनःनिर्माण नभएपछि मानिस जोखिमपूर्ण बसोबास गरिरहेका छन् ।

बहालको चौघेरामा रहेका निजी घरहरू टेको लगाएर कतै मानिस बसोबास गरिरहेका छन् त कतै व्यापार व्यवसाय चलेको छ । कतै गारो फाटेका त कतै चर्किएका अनि कुनै ढल्किएका घरहरू कुनै पनि बेला भत्किन सक्ने जोखिममा छन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्