
अन्नपूर्ण हिमालको विभिन्न भागमा पहिलो जाँदा ३ जना नेपाली नागरिकसहित ४ जना कोरियन नागरिक बेपत्ता भएका छन् ।
होटल हिमालयदेखि देउरालीसम्मको क्षेत्रमा पहिरो जाँदा ३ नेपालीसहित ४ कोरियन नागरिक हराइरहेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले लोकान्तरसँग बताए ।
उनले भने, ‘होटल हिमालय टु देउरालीसम्म पहिरो जाँदा ७ नागरिक हराएका हुन् ।’
सुवेदीका अनुसार करिब २ सय जना नागरिकलाई जिवितै उद्दार गरेर पोखरा ल्याइसकिएको छ । माछापुच्छ्रे बेसक्याम्प, अन्नपूर्ण, देउराली लगायतका विभिन्न क्षेत्रबाट उनीहरूको शनिवार उद्दार गरिएको हो ।
टानको टोली वस्तुस्थितीबारे अवलोकन गर्न हेलिकप्टर नै लिएर गएको अध्यक्ष सुवेदीले जानकारी दिए । उद्दार तथा वस्तुस्थिती अवलोकनका लागि हाम्रो साथीहरू हेलिकोप्टर लिएर जानुभएको छ, लोकान्तरसँग कुरा गर्दै उनले भने ।
यता प्रहरीले भने ७ जना हराइरहेको भएपनि ७० जनाको उद्दार गरिएको बताएको छ ।
कास्कीका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण क्षेत्रको विभिन्न भागमा हिमपहिरो जाँदा अहिलेसम्म ३ जना नेपाली नागरिकसहित ४ जना कोरियन नागरिक हराइरहेको लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार, अहिलेसम्म ७१ जनाको उद्दार गरिएको छ । अन्य धेरै नै हराइरहेको भन्दै प्रहरी उपरीक्षक कार्कीले अहिले उद्दार कार्य भइरहेको जानकारी दिए ।