२६ जेठ २०८३, मंगलबार

‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने धारणा हटाउनुपर्छ’

‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने धारणा हटाउनुपर्छ’
फाइल फोटो

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सामुदायिक विद्यालयमा गरीबका छोराछोरी मात्रै पढ्छन् भन्ने धारणा हटाउनुपर्नेमा जोड दिएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माध्यमिक विद्यालयको ५१औं वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयले पनि दक्ष जनशक्ति उत्पादन गर्न सक्ने क्षमता राख्ने बताए ।

मन्त्री गुरुङले सरकार समृद्धितर्फ अगाडि बढेकाले अब देशलाई सबै क्षेत्रमा दक्ष जनशक्ति आवश्यक रहेको चर्चा गर्दै सामुदायिक विद्यालयमा पनि प्राविधिक शिक्षाको अध्ययन शुरु भइसकेको जानकारी गराए ।

उनले उच्च शिक्षामा दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न शुक्लागण्डकीमा नै गण्डकी विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया शुरु भइसकेको बताए ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा वुद्धिबहादुर थापाले शिक्षक र विद्यार्थीबीचको सुमधुर सम्बन्धले पढाइको वातावरण सिर्जना हुनेमा जोड दिए ।

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख रमाकान्त शर्माले सामुदायिक विद्यालयमा केही समस्या रहेको चर्चा गर्दै सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्नुपर्ने बताए ।

नगर उपप्रमुख सविता रसाईलीले बालबालिकालाई समयले खोजे अनुसारको शिक्षा दिनुपर्नेमा जोड दिइन् ।

सो अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्ने वुद्धिबहादुर थापा, कलावती घिमिरे, हरिाज घिमिरे, धनबहादुर विक, सुरेशराज र राधा पौडेल, जनकराज तिम्सिनालाई सम्मान गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्