
विश्व आर्थिक मञ्चको ५०औं वार्षिक बैठकअघि अधिकारवादी समूह अक्सफ्यामले टाइम टु केयर नामक अध्ययन प्रकाशन गरेको हो । त्यसमा लेखिएअनुसार, संसारका २१ सय ५३ अर्बपतिहरूसँग पृथ्वीका ६० प्रतिशत जनसंख्या अर्थात् ४ अर्ब ६० करोड मानिसको भन्दा बढी सम्पत्ति छ ।
छिमेकी भारतका धनाढ्य १ प्रतिशत मानिससँग देशको ७० प्रतिशत जनसंख्याको भन्दा चार गुणा बढी सम्पत्ति रहेको सोमवार प्रकाशित एक अध्ययनले देखाएको छ । भारतमा रहेका सबै अर्बपतिहरूको कुल सम्पत्ति देशको एक वर्षको बजेट जति भएको पनि पाइएको छ ।
प्रतिवेदनमा लेखिएअनुसार, विश्वव्यापी असमानता गहिरो गरी जमेको छ र विगत एक दशकमा अर्बपतिहरूको संख्या बढेको छ ।
आय र लैंगिक असमानताको मुद्दा सोमवारबाट शुरू हुने विश्व आर्थिक मञ्चको पाँच दिने सम्मेलनका छलफलमा उठ्ने अपेक्षा गरिएको छ । मञ्चको वार्षिक वैश्विक जोखिम प्रतिवेदनले पनि आथिृक असमानताका कारण सन् २०१९ मा विश्व अर्थतन्त्र ओरालो लागेको चेतावनी दिएको छ ।
अहिले सबै महादेशमा भइरहेको सामाजिक अशान्तिका पछाडि असमानता नै कारण रहेको तर यस्तो अशान्तिका लागि भ्रष्टाचार, संवैधानिक प्रावधानको उल्लंघन वा आधारभूत वस्तु तथा सेवाको मूल्यवृद्धि पनि कारण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विगत तीन दशकमा वैश्विक असमानता घटेको भए पनि राष्ट्रिय स्तरमा आयमा असमानता धेरै देशहरूमा, विशेषगरी विकसित अर्थतन्त्रहरूमा, बढिरहेको र केही देशमा त ऐतिहासिक रूपमा उच्च रहेको प्रतिवेदनको कथन हो ।
अक्सफ्यामको रिपोर्टमा लिंगभेदी अर्थतन्त्रहरूले धनाढ्य सम्भ्रान्तहरूलाई विशाल सम्पत्ति जम्मा गर्न समर्थ बनाएको अनि त्यसका लागि सर्वसाधारण र विशेषगरी गरीब महिला र बालिकाहरूले बलिदान दिनुपरेको उल्लेख छ ।
एजेन्सी