०७ साउन २०८३, बिहीबार

बुढानीलकण्ठमा सहमतिको 'ग्रीन सिग्नल'पछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

बुढानीलकण्ठमा सहमतिको 'ग्रीन सिग्नल'पछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

आन्तरिक विवादमा रुमल्लिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवार केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्ण पौडेलले बैठक सोमवार अपराह्न १ बजे बोलाइएको जानकारी दिए ।

लामो समयदेखि कांग्रेसभित्र देखिएको विवाद हल गर्न शुक्रवार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले सहमति जुटाएपछि केन्द्रीय समितिको बैठक बोलाइएको हो  ।

बैठकमा उपस्थित सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अन्य शीर्ष नेताबीच केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर अन्य विषयमा सहमति भएको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार २०७७ को फागुन ७ देखि १० सम्मका लागि तय गरिएको केन्द्रीय महाधिवेशनको कार्यतालिका यथावत राख्न असन्तुष्ट पक्ष सहमत भएको छ ।

गत पुस ११ गते वरिष्ठ नेता पौडेलपक्षीय नेताहरूको अनुपस्थितिमै बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको कार्यतालिका, विभागको संख्या बढाउने, तरुण दलको म्याद थप्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको थियो ।

वरिष्ठ नेता पौडेलले केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरू मान्य नहुने भन्दै औपचारिक बैठकमा सहभागी नहुने घोषणा गरेका थिए ।

'उहाँहरू केन्द्रीय समितिले गरेका निर्णयहरू सच्याउन तयार हुनुभएको छ,' पौडेलपक्षीय एक नेताले लोकान्तरसँग भने, 'हामी १३ गतेको केन्द्रीय समितिको बैठकमा उपस्थित हुन्छौं । त्यतिबेला गरेका सहमति सच्याएर त्यसलाई वैधानिकता दिन्छौं ।'

उनले पार्टीभित्र देखिएको विवाद बाहिर नलैजानेसमेत सहमति भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्