
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद्मा ल्याएका स्वतन्त्रता प्रतिकूलमा विधेयक पारित गर्नबाट रोक्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।
नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिने क्रममा मंगलवार संसद् बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा निष्पक्ष भूमिकाको अपेक्षा रहने समेत बताए ।
‘सभामुखमा हामीले उम्मेदवार नउठाउनुको कारण सभामुख पद निष्पक्ष र तथष्ठ हुनुपर्छ भनेर हो । संसद् विपक्षको भन्ने मान्यता संसारभर रहेको छ । सदन विपक्षको भन्ने कुरालाई ध्यान दिएर अगाडि बढ्नु जरुरी छ,’ उनले भने, ‘सरकारले केही स्वतन्त्रता प्रतिकूल विधेयक ल्याएको छ, यसमा हाम्रो पहिलैदेखि विरोध छ । विना प्रेस स्वतन्त्रता र मानवअधिकार लोकतन्त्र सफल हँुदैन । जहाँ प्रेसमाथि नियन्त्रण हुन्छ, त्यहाँ लोकतन्त्र चल्न सक्दैन ।’
नागरिक अधिकार कुण्ठित गर्ने, टेलिफोन ट्यापिङ गर्ने जस्ता स्वतन्त्रता प्रतिकूल विधेयक सदनले पास गर्न दिन नहुने उनले बताए ।
‘प्रधानमन्त्रीले यहाँ लोकतन्त्रको कुर गर्नुभयो, खुशी लाग्यो । लोकतन्त्रको खिलापका विधेयक किन ल्याएको ? फिर्ता गर्नुहोस्,’ देउवाले भने ।
देउवाले विपक्षीलाई विश्वासमा लिएर काम गर्न र सदनमा उठेका कुरा गम्भीरताका साथ सम्बोधन गर्न सभामुखको ध्यानाकर्षण गराए ।
‘शान्ति प्रक्रियाका काम सम्पन्न गर्न छ, यस काममा पनि सभामुखबाट सपोर्ट हुने विश्वास लिएका छौं,’ देउवाले भने ।
सभामुख भइसकेपछि कुनै पार्टीको सभामुख होइन, दमननाथ ढुंगानाजस्तै सबैलाई विश्वासमा लिएर अगाडि बढ्न उनले सापकोटालाई सुझाव दिए ।