
फ्रीडम फोरम नेपालद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले सुशासन जनताको नैसर्गिक अधिकार रहेको बताएका छन् ।
मंगलवार राजधानीमा फ्रीडम फोरमद्वारा आयोजित गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै संविधानविद् काशीराज दाहालले सुशासनको अभावमा शासन वैध नहुने दाबी गरेका हुन् ।
गोष्ठीमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले स्थानिय सरकारले स्वतः प्रकाशन गर्नुपर्ने सूचनाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 'लोकतन्त्रको बलियो आधार नै सूचनाको हक भएकाले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ,’ कार्यपत्र प्रस्तुत गर्ने क्रममा झाले बताए ।
गोष्ठीमा सहभागी धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफूहरूले स्थानीय तहका लागि आवश्यक पर्ने ३१ वटा कानुन बनाइसकेको तर प्रदेश सरकारले एउटा पनि कानून बनाएर नदिएको आरोप लगाए ।
कर्मचारीको समुचित बाँडफाँडमा केन्द्र सरकारले उचित भूमिका निर्वाह नगरेको बताउँदै प्रमुख वडले आफ्नो महानगरमा कर्मचारीको सँख्या थुप्रिदै गएको बताए ।
'देशको सबैभन्दा ठूलो भ्रष्टाचार असार मसान्त भएको छ यसलाई सुधार्न सक्नुपर्छ,’ वडले भने ।
सूचनाको हक र स्थानीय तहमा असल शासन शीर्षकमा फ्रीडम फोरम नेपालद्वारा आयोजित गोष्ठीमा असल शासन परियोजना लागू भएका जिल्लाका सांसद, सूचना आयोगका सचिव, स्थानीय तहका प्रतिनिधि, पत्रकार तथा नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीय तहमा असल शासन स्थापना गर्ने विषयमा सूचनाको हकको महत्वको विषयमा छलफल भएको थियो ।