
कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारमा ६ आइसोलेसन वार्ड प्रयोग गर्दै आएको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले ३२ बेड थपेको छ । अन्य बिरामीको उपचारमा प्रयोगमै रहेका ३२ शय्या बुधबार खाली गरेर कोरोनाका शंकास्पद बिरामीका लागि व्यवस्थापन गरिएको हो । टेकु अस्पताल जम्मा सय शय्याको छ ।
रुघाखोकी र ज्वरोका बिरामीलाई सीधै आइसोलेसन वार्डमा भर्ना गर्न पनि नसकिने र अन्य बिरामीसँगै एकै वार्डमा भर्ना गर्न पनि जोखिम हुने भएकाले ३२ शय्याको वार्ड पूरै खाली गरेर बेग्लै व्यवस्थापन गरेको अस्पतालले जनाएको छ । यसअघि आइसोलेसन वार्डमा राखिएका, तर सामान्य अवस्था भएकालाई पनि त्यहीँ सारिएको छ । यस्ता बिरामी राख्ने शय्या एक मिटरको दूरीमा हुनुपर्छ ।
‘बिरामीलाई रुघाखोकी, ज्वरोको लक्षण देखिँदैमा आइसोलेसन वार्डमा भर्ना गरिँदैन, निगरानीमा राखिन्छ,’ अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडाले नयाँ पत्रिकासँग भने, ‘चिकित्सकले कोरोना भएको आशंका गरे मात्रै आइसोलेसन वार्ड लगिन्छ ।’
टेकु अस्पतालमा कोराना भाइरसका शंकास्पद बिरामी भर्नाका लागि आउने क्रम जारी छ । तर, बुधबार कुनै पनि नमुना परीक्षण नभएको अस्पतालले जनाएको छ । ‘बिरामीलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भए मात्रै कोरोना भाइरस परीक्षण गरिनेछ, त्यो पनि वुहान राज्यबाटै आएको हुनुपर्छ,’ टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने, ‘कोरोना परीक्षणमा जथाभावी नहोस् भनेर मंगलबारदेखि विश्व स्वास्थ्य संगठनको मापदण्ड अपनाइएको हो ।’
रुघाखोकी र ज्वरोका सामान्य बिरामी रेफर गरेर निजी अस्पतालले जथाभावी कोरोना परीक्षणमा दबाब दिइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । संक्रमण बढ्न नदिन सतर्कता अपनाएको उनले बताए । रसुवा र तातोपानी नाकामा विशेष चिकित्सकको टोलीसमेत पठाइने उनले बताए । उनका अनुसार कोरोनाबारे जनचेतना फैलाउन सरकारले एक लाख पर्चा–पम्प्लेट वितरण गरेको छ ।
नेपाल भित्रिएका चिनियाँ मास्क उतै फिर्ता
सामान्य अवस्थामा चीनबाट नेपालमा आयात भएका मास्क कोरोना भाइरस फैलिएसँगै चीनमै व्यापक माग भएको छ । अहिले नेपालबाट ठूलो परिमाणमा मास्क चीन जान थालेको छ । चिनियाँले हजारौँ पिस मास्क मागिरहेको, तर आफूले माग पूरा गर्न नसकेको नेपाली सप्लायर्स वसन्त श्रेष्ठले बताए ।
‘पहिले एन ९५’ मास्क किन्ने व्यक्ति खासै आउँदैनथे । कोरोना भाइरस फैलिएपछि एन ९५ मास्क खोज्ने बढेका छन्,’ मेड सेवा हेल्थ केयरका सञ्चालक श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘पुराना मौज्दात सबै सकिएको छ ।’ नेपाली बजारमा थ्री एम ८२०१ मास्क पनि अभाव भएको छ । यी दुवै मास्क चीनमै बनेका हुन् । चीनमा सीमित मात्रै मास्क किन्न दिने भएकाले नेपालबाट मौज्दात राख्न पनि हजारौँ पिस लैजान थालेको श्रेष्ठले बताए । नयाँ पत्रिकामा खबर छ।