प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन भएको छ ।
४८ वर्षीय राजीव ढुंगानाको अध्यक्षतामा गठन गरिएको तदर्थ समितिलाई लिएर नेविसंघ झन् विवादको भुमरीमा परेको छ ।
तदर्थ समितिमा अध्यक्षमा ढुंगाना, महामन्त्रीद्वयमा मनोज वैद्य र महेश्वरी कुँवर रहेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले अन्य पदाधिकारी पछि थप्ने गरी तत्कालका लागि तीन सदस्यीय तदर्थ समिति गठन गरेका हुन् ।
नेविसंघको तदर्थ समिति विधान अनुसार गठन नभएको भन्दै संस्थापन इतर विद्यार्थी समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसनमा समेत बसिरहेका छन् ।
विधानले निर्दिष्ट गरेअनुसार तदर्थ समितिमा ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने माग अनसनरत समूहले गरेपनि सभापति देउवाले उनीहरूको माग लत्याएका छन् ।
'यो नेविसंघलाई सिध्याउने छाला हो,' नेविसंघका एक पूर्व केन्द्रीय समिति सदस्यले भने, 'विधानविपरित पार्टी र भातृसंगठनहरूलाई कब्जा गर्ने नियतका साथ यो निर्णय भएको छ ।'
तर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापतिको निर्णयको बचाउ गरेका छन् ।
'नेविसंघको विधान २०२७ (सातौँ संशोधन)को भाग २, धारा ५ अन्तर्गत बुँदा नम्बर ५ अनुसार ३२ वर्ष पुगेको व्यक्ति नेविसंघको सदस्य बन्न नपाउने भएपनि र यो व्यवस्था १२ औं महाधिवेशनबाट लागू हुने उल्लेख छ,' शर्माले भने ।
उनका अनुसार १२ औं महाधिवेशनबाट आउने समिति र महाधिवेशन गराउने समिति फरक फरक कुरा हुन् । उनले विधानतः सभापति देउवाको निर्णय सही भएको दाबी गरे ।
बिहीवार गठन गरिएको तदर्थ समितिमा रहेका ३ जना पदाधिकारी देउवाले आफ्नो तर्फबाट राखेका हुन् । 'तदर्थ समितिका बाँकी पदाधिकारी र सदस्यहरूको मनोनयन यथाशीघ्र गरिनेछ,' पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेविसंघ एक वर्षदेखि विघटित छ । अहिले बनेको तदर्थ समितिले ६ महिनाभित्र १२ औं केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने बताइएको छ ।
१२ औं महाधिवेशन सम्पन्न नहुनेबेलासम्म अहिले गठन भएको तदर्थ समितिले विधानअनुसार केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने अधिकार प्रयोग गर्नेछ ।
विज्ञप्तिमा यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउने उल्लेख गरिएको छ ।
यससँगै एक वर्षसम्म अन्योलमा रहेको नेविसंघले तदर्थ समिति त पाएको छ तर यसबाट विद्यार्थीहरूबीचमा झन् ठूलो विवाद र द्वन्द्व बढ्ने देखिन्छ ।