
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको तेस्रो दिन समूह नेताहरूले आ–आफ्नो निष्कर्षको प्रस्तुती दिँदैछन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा केन्द्रीय कमिटी सदस्यहरूले १५ वटा समूह बनाएर सामूहिक छलफल गरेका थिए ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा छुट्टाछुट्टै समूहको छलफल चलेको थियो ।
३ वटै दस्तावेजमाथि धेरैजसो समूहको छलफल बिहीवारै सम्पन्न भएको भएपनि एकाध समूहले शुक्रवार बिहान पनि छलफल गरेका थिए । अपराह्न १ बजे बस्ने बैठकमा समूह नेताहरूले आ–आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
समूह १० ले शुक्रवार बिहान पनि छलफललाई जारी राखेको छ । ‘हिजोको छलफलमा विधान संशोधनबारे कुरा गर्न समय मिलेन,’ समूहका एक सदस्य युवराज चौलागाईंले लोकान्तरसँग भने, ‘आज त्यसबारे छलफल गर्दैछौं ।’
छलफल गर्ने क्रममा कतिपय समूहका सदस्यहरूले सरकारको चर्को आलोचना गरेका छन् । उनीहरूले सरकारले राष्ट्रिय स्वाधीनताको सवालमा दह्रो अडान नलिएको, केही नेताहरूको स्वार्थमा पार्टी र सरकार चलेको, पार्टीभित्र ठेकेदारले रजाईं गरेको जस्ता आरोप पार्टीको नेतृत्व र सरकारमाथि लगाएका छन् ।
‘यही अवस्थामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुन नहुने अडानमा सदस्यहरू हुनुहुन्छ,’ १० नम्बर समूहका सदस्य चौलागाईंले भने ।
केन्द्रीय सदस्य झपट रावलले एक व्यक्ति एक पद लागू नभएकोमा असन्तोष व्यक्त गरेका छन् । ‘केन्द्रीय सचिवालय समावेशी छैन । पार्टीका अन्य तह र संरचना पनि समावेशी छैनन्,’ रावलले भने ।
समूह १ मा उर्मिला अर्याल र आनन्द पोखरेल टोली नेता छन् भने समूह २ मा कमला रोका छिन् । ३ नम्बर समूहमा खिमलाल भट्टराई, ४ नम्बरमा जगन्नाथ खतिवडा, ५ नम्बरमा ठाकुर गैरे, ६ नम्बरमा दिनानाथ शर्मा, ७ नम्बरमा पूर्णकुमारी सुवेदी, ८ नम्बरमा बिन्दा पाण्डे, ९ नम्बरमा भगवती चौधरी, १० नम्बरमा कोही चुनिएको छैन, ११ नम्बरमा राजेन्द्र राई, १२ नम्बरमा रेणु दाहाल, १३ नम्बरमा लेखनाथ न्यौपाने, १४ नम्बरमा राम कार्की र १५ नम्बरमा हिमाल शर्मा टोली नेता चुनिएका छन् ।
प्रत्येक टोलीमा ३० जना केन्द्रीय कमिटी सदस्यहरू छन् । शुक्रवारदेखि पालैपालो टोली नेताहरूले आफ्नो प्रस्तुति दिनेछन् । आफ्नो समूहमा उठेका कुराहरू उभिएर भन्नुपर्नेछ ।
केन्द्रीय कमिटी बैठक शुरू हुनुभन्दा अगाडि कतिपय सदस्यहरूले बोल्न नपाइने चिन्ता गरेका थिए । यसअघि पुसमा सम्पन्न ४५ जना सदस्य रहेको स्थायी कमिटी बैठक पनि १ सातामा सम्पन्न भएको थियो भने ४ सय ४५ जना केन्द्रीय कमिटी बैठकका लागि जम्मा ५ दिन समय तोकिएको छ ।
तर व्यक्तिगत रूपमा प्रत्येक केन्द्रीय सदस्यले धारणा राख्न नपाएपनि समूहगत रूपमा सबैको धारणा प्रतिनिधित्व हुने भएको छ । शुक्रवारको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली उपस्थित हुने छैनन् । ‘उहाँ आज उपस्थित हुनुहुन्न,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘अन्य बैठकमा आवश्यकता अनुसार हुनुहुन्छ । प्रधानमन्त्री उपस्थित नै नहुने गरेर बैठक छाडेको कुरा सत्य होइन ।’
बुधवार बैठक उद्घाटन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारको बचाउ गर्न साढे २ घण्टा खर्चिएका थिए । सरकारको आलोचना हुन्छ भन्ने पूर्वाभास पाएरै ओलीले केन्द्रीय सदस्यहरूलाई सरकारले काम गरेको फेहरिस्त पेश गरे ।