०६ साउन २०८३, बुधबार

हिमाल पारीको जिल्ला मुस्ताङमा पर्यटक तान्दै स्की

हिमाल पारीको जिल्ला मुस्ताङमा पर्यटक तान्दै स्की
प्रतिकात्मक तस्वीर

हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्ला वर्षमा पर्वतीय पर्यटनका गतिविधिलाई अघि बढाउन थालिएको छ ।

हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, ल्होमान्थाङलगायतका स्थानमा सञ्चालन हुने यार्तुङलगायतका विभिन्न चाडपर्व यहाँका पर्यटकीय आकर्षण हुन् । हिमाली क्षेत्रमा पर्यटकको आगमन बाह्रै महिना गराउने उद्देश्यले पर्वतीय पर्यटनका गतिविधि बढाइएको मुक्तिनाथ रानीपौवास्थित होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए ।

हिउँदमा हिउँ जम्ने भएकाले स्की (हिउँमा चिप्लने खेल) पर्वतीय पर्यटनको महत्वपूर्ण आकर्षण बनेको छ । युरोपेली मुलुकमा स्की खेल शुरु भए पनि नेपालमा यसको थालनी केही वर्षअघि मात्रै भएको हो ।

नेपालमा सन् २०१६ मा पहिलो पटक रसुवाको लाङटाङमा स्की प्रतियोगिता भएको थियो । लाङ्टाङको केञ्जिङ उपत्यकामा सम्पन्न उक्त प्रतियोगितामा १२ खेलाडी सहभागी थिए । अघिल्लो वर्ष मुक्तिनाथमा दोस्रो राष्ट्रिय स्की च्याम्पीयनसिप २०१९ भएको थियो । प्रतियोगिताअन्तर्गत स्नोबोर्डिङ स्की र अल्पाइन स्की विधामा प्रतिस्पर्धा गर्न १५ महिला र १६ पुरुष खेलाडी सहभागी थिए ।

प्रतियोगिताकै निरन्तरतास्वरुप भोलिदेखि मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पीयनसिप २०२० प्रतियोगिता गर्न लागिएको छ । 'प्रतियोगितासँगै यसले नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान गर्नेछ', उनले भने, 'स्कीलगायतका साहासिक खेलका माध्यमबाट हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा मद्दत त पुग्छ नै, यसले हिउँदमा पर्यटकको आगमनलाई निरन्तरता दिन सहयोग पुर्‍याएको छ ।'

मुक्तिनाथमा २० गतेसम्म हुने स्की च्याम्पियनसिपले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष योगदान पुग्ने विश्वास लिइएको नेपाल स्की सङ्घका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले बताए । उनले भने, ' साहासिक खेलबाट नेपाल भ्रमण वर्ष २०२० मा हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुग्नेछ ।' स्कीका माध्यमबाट हिउँदको मौसममा पनि यहाँको पर्यटनमा चहलपहल गराउने उहाँको भनाइ थियो ।

प्रतियोगिताअन्तर्गत स्नोबोर्डिङ स्की, अल्पाइन स्की र क्रसकन्ट्रीमा खेल हुने सङ्घका महासचिव विजय श्रेष्ठले बताए । स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यसले महत्वपूर्ण सहयोग पुग्ने उनको दाबी छ ।

स्कीका लागि उपयुक्त स्थान मुक्तिनाथ भएकाले मुक्तिनाथ र मुस्ताङका विभिन्न सम्भावित क्षेत्रको अध्ययन गरी गाउँपालिका र नेपाल सरकारसँग समन्वय गरी उक्त स्थानलाई स्की स्पोर्टस्का रूपमा विकास गरिने लक्ष्य लिइएको छ । 

आवश्यक पूर्वाधार विकास गर्नसक्ने हो भने मुस्ताङलाई स्की खेलको अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा विकास गर्न सकिने सांसद प्रेमप्रसाद तुलाचनले बताए ।

'हालसम्म कृषि र पर्यटनले चिनिएको मुस्ताङ अब खेल पर्यटनको पनि गन्तव्य बन्ने भएको छ', उनले भने ।

स्की नेपालका लागि नौलो हो । यसको विकास गर्न नेपाल स्कीले औपचारिक प्रयास थालेको आठ/नौ वर्ष भएको सङ्घका सदस्य अर्जुन महर्जनले बताए । वासुदेव पौडेल/नीरज थकाली

salt training

कमेन्ट गर्नुहोस्