
कुष्ठरोगको सामान्य संकेत देखिनासाथ समयमै उपचार नगर्दा धेरैको अङ्गभङ्ग भएको छ ।
किटाणु शरीरमा प्रवेश गरेपछि पनि उपचार शुरू नगर्दा रोगले हातखुट्टा लगायतका अंग नै काम नगर्ने अवस्थामा पुग्ने यस क्षेत्रमा कार्यरत बताउँछन् ।
अस्पतालमा कार्यरत कुष्ठरोग विशेषज्ञ डा. महेश साहका अनुसार रोगप्रतिको गलत धारणा बिस्तारै कम भएपनि पूरै हट्न सकेको छैन ।
सामाजिकरुपमा विभेदमा परिने वा धर्मसँग जोडेर हेर्ने हुँदा बिरामी समयमा उपचारका लागि स्वास्थ्य संस्था नपुग्ने उनले बताए । ‘त्यसैले पनि सबैभन्दा राम्रो समयमै उपचार शुरू गरेर अङ्गभङ्ग हुनबाट जोगाउने नै हो,’ उनले भने ।
कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरूमा रातो वा फुस्रो रंगको दाग र गिर्खा देखिनेलगायत लक्षण देखिएपनि थोरैमा यो लक्षण नदेखिँदा कतिपय अझै ढिलो मात्रै उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले जनाएको छ ।
कुष्ठरोगको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये झण्डै १० प्रतिशतमा दाग नदेखिने गरेको डा. साहले बताए । उनका अनुसार रोगको किटाणु शरीरमा प्रवेश गरेरसमेत दाग नदेखिनु चुनौतीका रुपमा रहेको छ । ‘यसले गर्दा किटाणु फैलिएर बिरामीको अङ्गभङ्ग भएपछि मात्रै बिरामी उपचारका लागि आइपुग्छन्,’ उनले भने ।
कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि दाग देखिनेसँगै अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, आँखीभौं पहिले पातलो हुँदै झर्न थाल्ने अस्पतालले बताएको छ । बिरामीमा बिस्तारै हात वा खुट्टा लत्रने, शरीरमा नदुख्ने घाउ देखापर्ने हुँदै अन्तमा बिरामी सामान्य कामसमेत गर्न नसक्ने हुन्छन् ।
सरकारले यो रोग निवारणको घोषणा गरेको ९ वर्ष बितिसक्दा गत वर्ष रोगको प्रकोप ० दशमलव ९९ प्रतिशत थियो । बर्सेनि कुष्ठरोगका ३ हजार नयाँ बिरामी फेला परिरहेका छन् । रोग निवारण भइसकेको भन्दै सरकार र गैरसरकारी संस्थाले भने यस क्षेत्रमा लगानी कम गर्दै गएका छन् ।
हावाबाट सर्ने रोग भएपनि रोगको किटाणु शरीरमा प्रवेश गर्दा ९५ प्रतिशतलाई रोग प्रतिरोधी क्षमताले काम गर्ने हुँदा बाँकी ५ प्रतिशतलाई मात्रै रोग सर्न सक्छ ।