२४ जेठ २०८३, आइतबार

उत्पादनको क्षेत्रमा सहकारीको लगानी ०.८५ प्रतिशत

उत्पादनको क्षेत्रमा सहकारीको लगानी ०.८५ प्रतिशत

आर्थिक क्रियाकलापका क्षेत्रमा सहकारीको योगदान महत्त्वपूर्ण रहेपनि उत्पादनका क्षेत्रमा उल्लेखनीय उपलब्धि प्राप्त भएको पर्याप्त तथ्य पाइँदैन ।

देशभर झण्डै ३५ हजार सहकारी संस्थासँग झण्डै ७ खर्ब बचत छ तर उत्पादनका क्षेत्रमा पूँजी परिचालन हुन नसक्दा आयात प्रतिस्थापन गर्न नसकिएको टड्कारो उदाहरण छ ।

मुलुकको अर्थतन्त्रको आकारको तुलनामा सहकारीकर्मीसँगको बचतको अंश हेर्दा उल्लेखनीय रहेको पाइन्छ । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले सदनमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट प्रस्तुत गर्दै गर्दा कूल बजेटको झण्डै ४६ प्रतिशत अर्थात् ७ खर्ब बचत संकलन गरेका सहकारीकर्मीबाट उत्पादनका क्षेत्रमा ठोस लगानी भएको पाइँदैन ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले कूल गार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान ५ प्रतिशत रहेको दाबी गरेपनि उत्पादनका क्षेत्रमा जम्मा ३०० सहकारी संस्था आबद्ध रहेका बताए । सहकारी संस्था कृषि तथा कृषिजन्य वस्तु र घरेलु तथा हस्तकलाका सामग्री उत्पादनमा सीमित छन् ।

कँडेलले व्यक्त गरेका धारणालाई आधार मान्दा संख्याका आधारमा उत्पादनतर्फ जम्मा ०.८५ प्रतिशतको सहभागिताले समाजवादतर्फ उन्मुख नेपालको अर्थतन्त्रमा सहकारीको योगदानलाई ठोस उपलब्धिका रूपमा मूल्यांकन गर्न सकिँदैन ।

आजभन्दा ६० वर्ष पहिले अर्थात् विक्रम संवत् २०१६ मा पहिलो सहकारी ऐन आएको थियो । पहिलो ऐन आएको ६ दशकपछि सहकारी संस्थामा प्रत्यक्ष ६३ हजार व्यक्ति आबद्ध छन् । विक्रम संवत् २०६८ को जनसंख्यालाई आधार मान्दा सहकारीमा आबद्ध रहेको जनसंख्या ०.२४ प्रतिशत हुन आउँछ । विक्रम संवत् २०६८ को जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ छ ।

कूल जनसंख्याका आधारमा ०.२४ प्रतिशत जनसंख्यासँग ७ खर्ब बचत संकलन हुनु तर उत्पादनका क्षेत्रमा भने ०.८५ प्रतिशतमा सीमित हुनुले नेपालको सहकारी क्षेत्र सीमित व्यक्तिको वरिपरि अनुत्पादक क्षेत्रमा लगानी भइरहेका कारण गरीब दिन प्रतिदिन गरीब र धनी दिनप्रति धनी हँुदै गएका यो बलियो प्रमाण हो । 

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य घनश्याम खतिवडाले नेपालका अधिकांश सहकारी संस्थाले पैसा किन्ने, बिक्री गर्ने, सान्दर्भिक ब्याजदर लागू नगर्ने र उद्देश्यअनुसार काम नगरेको बताए ।

सहकारी ऐन २०७४ को परिच्छेद ७ को दफा ५० मा बचत तथा ऋण सहकारी संस्थाले सदस्य केन्द्रित भई बचत तथा ऋणको कारोबार गर्नुपर्ने, दफा ५१ ले सन्दर्भ ब्याजदर तोक्न सक्ने र तोकिएको ब्याजदर लागू गर्नुपर्ने तथा दफा ५० को उपदफा २ मा बचत तथा ऋणको मुख्य कारोवार गर्नेगरी दर्ता भएका संस्थाबाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न पाउने छैनन् भनी उल्लेख गरिएको छ । 

सहकारी क्षेत्रका जानकार पारितोष पौड्यालले ऐनमा उल्लेख भएका शर्तअनुसार सहकारी संस्था सञ्चालनमा आउन नसकेकाका कारण वित्तीय अनुशासन कायम गर्न मौजुदा सहकारी ऐन संशोधन गर्नुपर्ने बताए । वित्तीय संस्थाको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकले सहकारीको ब्याजदर तोक्न नमिल्ने जनाएको छ । खुला बजार अर्थनीतिलाई नेपालले अवलम्बन गरेको हुँदा ब्याजदर तोक्न नमिल्ने बैंकले जनाएको हो । यद्यपि राष्ट्र बैंकले ब्याज र ऋणको अन्तर (स्प्रेडदर) भने तोक्न सक्ने प्रावधान छ ।

नेपाल राष्ट्र बैंकले गत साउन ८ गते सार्वजनिक गरेको मौद्रिक नीतिमा वाणिज्य बैंकका लागि ४.४ प्रतिशत र सहकारी ऐन २०७४ लागू भएको तीन वर्षपछि ऐनको दफा ४१ बमोजिम समितिको सिफारिशमा सहकारी संस्थाका लागि ६ प्रतिशत स्प्रेडदर निर्धारण भएको थियो । नेपालका ३५ हजार सहकारी संस्थामध्ये लगभग २२ हजारले वित्तीय कारोबार गर्छन् । संस्थाको वित्तीय नियमन गर्ने अधिकार नेपाल राष्ट्र बैंकसँग छैन ।

बचत तथा ऋण परिचालन गर्दै आएका २२ हजार सहकारी संस्थाले थोरैमा १२ प्रतिशतदेखि बढीमा १८ प्रतिशतसम्म ब्याज असुल्ने गरेका बताइन्छ । यद्यपि सहकारी संस्थाले ब्याजवापत १६ प्रतिशतभन्दा बढी ब्याज असुल्न नपाउने नीति छ ।

राज्यले अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई तेस्रो खम्बाका रूपमा स्वीकार गरेको छ । सहकारी संस्थाले उत्पादनका क्षेत्रमा लगानी गर्दा राज्यले हरेक क्षेत्रमा अनुदान, ब्याज कटौती, भन्सार छुटलगायतको सुविधा दिने व्यवस्था छ । आव २०७६/७७ को बजेटमार्फत सरकारले उत्पादन वृद्धि, बेरोजगारको अन्त्य र निर्यातमा जोड भन्दै सहकारीका प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ६९ करोड ७७ लाख रकम विनियोजन गरेको छ । जुन रकम चालू आव २०७५/७६ को भन्दा ९१.०४५ प्रतिशतले बढी छ ।

नेपालमा सहकारी आन्दोलनको इतिहास लामो छ । विक्रम संवत् २०१३ चैत्र २० गते चितवनको बखानपुरमा स्थापना भएको ऋण सहकारी संस्था नेपालको पहिलो सहकारी संस्था हो । सहकारी संस्थाको स्थापनाका कारण सामाजिक सद्भाव, एकता र मेलमिलापमा मद्दत पुगे पनि उत्पादन वृद्धिका क्षेत्रमा भने उल्लेखनीय योगदान पुगेको देखिँदैन । – राजाराम कार्की/रासस

salt training

कमेन्ट गर्नुहोस्