
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले माओवादी १० वर्षे जनयुद्ध सही भएको बताएका छन् ।
मन्त्री पुनले जनयुद्धकै कारण नेपालमा गणतन्त्र सहितका राजनीतिक परिवर्तन सम्भव भएको नबिर्सन आग्रह गरे । जनयुद्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक अभियान भएको उनको भनाइ थियो ।
जनयुद्धबाट आएका नेताहरू उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसकेको चर्चा गर्दै मन्त्री पुनले जनयुद्ध चाहिँ कसरी गलत भयो भन्ने प्रश्न गरे ।
‘जनयुद्धको बेसमा आएको गणतन्त्र सबैका लागि स्वीकार्य हुने, जनयुद्धका नेताहरू उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री बन्दा स्वीकार्ने तर गणतन्त्र ल्याउने जनयुद्ध र जनयुद्धका योद्धाहरू चाहिँ किन अस्वीकार्य हुने ?’ शहीद तथा बेपत्ता योद्धा सन्तती फाउन्डेसनको प्रथम साधारण सभालाई शनिवार नेकपा कार्यालय कोटेश्वर पेरिसडाँडामा उद्घाटन गर्दै नेकपा स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले भने ।
उनले जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गरे । मन्त्री पुनले जनयुद्धले नेपाली समाजमा ठूलो कायापलट ल्याएको भन्दै त्यो इतिहास कसैले अस्वीकार गर्दैमा अस्वीकार्य नहुने बताए ।
मन्त्री पुनले आफूहरू संयोगले जनयुद्धबाट बाँचेर आएको भन्दै शहीदको सपना बाँचेकाहरूले पूरा गर्नुपर्नेमा जोड दिए । आफ्नो पार्टी र सरकार जनयुद्ध तथा त्यसअघि र पछि भएका आन्दोलनका शहीदका सपना साकार पार्न सक्रिय र प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।
मन्त्री पुनले शहीदका सपना साकार पार्नकै लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको स्पष्ट गरे । आफ्ना अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकै बेला जनयुद्धका शहीदलाई शहीद घोषणा गरिएको स्मरण गर्दै मन्त्री पुनले राजपत्रमा प्रकाशित नहुँदा अन्योल कायम रहेकाले उक्त निर्णयलाई वर्तमान सरकारले राजपत्रमा प्रकाशित गरेर लखन थापादेखि जनयुद्धसम्मका शहीदलाई राष्ट्रिय शहीदको सूचीमा समावेश गर्ने काम छिट्टै गरिने प्रतिबद्धता जनाए ।
‘लखन थापादेखि जनयुद्धसम्मका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिन्छ,’ मन्त्री पुनले भने, ‘यो सरकारले त्यो काम गर्छ ।’