
काठमाडौँ महानगरपालिका वडा नम्बर १८ को कार्यालय भवन पुनर्निर्माण सम्पन्न भएको छ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले भवनको उद्घाटन गरेका हुन्। उद्घाटन अवसरमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि सहभागी थिए। हनुमानढोकादेखि स्वयम्भूसम्मको सम्पदामार्गमा पर्ने वडा भवन करीब ६० लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको हो।
मेयर शाक्यले आफ्नै कार्यकालमा सकेसम्म ३२ वटै वडाका आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्ने योजना रहेको बताए। उनले भने, ‘कतिपय वडामा तला थप्ने काम भैरहेको छ भने केही वडा भवन निर्माणको अन्तिम चरणमा पुगेका छन्।’
उनका अनुसार वडा नम्बर २, २१ र २९ को भवन निर्माण प्रक्रिया पनि प्रक्रिया अघि बढेको छ।