
भारत सरकारले चालू आर्थिक वर्ष सन् २०२०-०२१ मा नेपालका लागि अनुदान रकम कटौती गरेको छ।
भारती वित्त मन्त्री निर्मला सीतारमणले शनिबार प्रस्तुत गरेको बजेटमा नेपाललाई दिने अनुदानमा ४ अर्ब भारतीय रुपैयाँ कटौती गरेर ८ अर्बमा कायम गरेको हो।
जबकि यो अनुदान रकम गत वर्ष १२ अर्ब भारु थियो। यद्यपि, यो १२ अर्ब भारु भनेको चुनावपछिको पूर्ण बजेटमा समेत कायम भएको अनुदान थियो। त्यसअघिको गत वर्षको पहिलो पूर्ण बजेटमा १० अर्ब ५० करोड भारु सहयोग दिने प्रस्तावित थियो।
भारतले नेपाललाई प्रदान गर्दै आएको अनुदानमा कटौती गरेपनि दक्षिण एसियाका भुटान, बंगलादेशमा रकम बढाएको छ। अफगानिस्तानलाई प्रदान गर्दै आएको अनुदानलाई भने स्थिर राखेको छ।
भारतले अनुदान बापत प्रदान गर्दै आएको रकम नेपाल सरकारमार्फत् र काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत खर्च हुने गर्छ।