
प्रतापपुरस्थित इन्दिरा सुगर मिलले किसानलाई १० करोड रुपैयाँ तिर्न बाँकी छ । किसानले भुक्तानी माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन् । पटक–पटक सहमति गरेर रकम नदिएपछि शुक्रबार इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल र किसान प्रतिनिधिबीच जिल्ला प्रशासनमा छलफल भयो ।
अग्रवाल जिल्लामा आएको जानकारी आएपछि प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले किसान र उनीबीच छलफल गराएका थिए । छलफलमा किसानका प्रतिनिधिले सहमति पालना नगरेको भन्दै ठगी मुद्दा दायर गर्ने चेतावनी दिए ।
अग्रवालले चिनी बिक्री गर्न नपाएकाले ताला खुलेपछि मात्र भुक्तानी दिन सक्ने अडान राखे । किसान प्रतिनिधिले भुक्तानी तालिका निकालेर रकम दिन सुरु भएपछि मात्र ताला खोल्ने अडान राखेपछि अग्रवाल भक्कानिए । ‘उद्योगमा महिनौंदेखि ताला लागेको छ । गोदाममा भएको मोलासिस र चिनी बिक्री गर्न पाएको छैन,’ उनले रुँदै भने, ‘मानसिक तनाव सहनुभन्दा मलाई थुन्नुहोस् ।’ इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिजले १० करोड र सर्लाहीस्थित अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिजको २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । दुवै उद्योग अहिले बन्द छन् । छलफलमा अग्रवालले माघभित्र ६ करोड रुपैयाँ भुक्तानी गर्ने सहमति गरेका छन् ।
भेली उद्योगलाई उखु बिक्री
यहाँका किसानले स्थानीय क्रसर उद्योग (भेली उद्योग) लाई सस्तोमै उखु बिक्री गर्न थालेका छन् । यस्ता उद्योगले सरकारले तोकेको उखुको निर्धारित मूल्यभन्दा निकै कममा खरिद गर्ने गर्छन् । अहिले भेली बनाउने क्रसरले प्रतिक्विन्टल ३ सयदेखि ३ सय ५० रुपैयाँमा खरिद गरिरहेका छन् । चिनी उद्योगलाई उखु बेचेर भुक्तानीका लागि वर्षौं कुर्नुभन्दा किसानले सस्तोमा भए पनि क्रसरलाई बेचेका हुन् ।
विगतमा उखु मिललाई उखु बिक्री गर्दै आएका पश्चिम नवलपरासीस्थित प्रतापपुर–२ का भगवान् कुर्मीले यस वर्ष भेली उद्योगलाई सस्तोमा बेचेको बताए । ‘उखु अभाव हुँदासमेत सस्तोमा बिक्री गर्नु परेको छ,’ उनले भने । जिल्लामा वाग्मती चिनी उद्योग मात्र सञ्चालनमा छ । लुम्बिनी र इन्दिरा सुगर मिल यस वर्ष उखु क्रसिङ नगर्ने जनाएर बन्द भइसकेका छन् ।
उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवका अनुसार चिनी उद्योगले समयमा नै भुक्तानी नदिँदा किसानले बाध्य भएर सस्तोमा क्रसरलाई उखु बिक्री गर्नु परेको हो । ‘कहिले बिचौलिया लगाएर सस्तोमा उखु खरिद गर्ने, कहिले बक्यौता रकम दिन आनाकानी गर्ने उद्योगीका कारण किसान मर्कामा छन्,’ उनले भने ।
जिल्लाका उखु किसानले माघ १४ गतेयता आन्दोलन गर्दै आएका छन् । उनीहरू अब काठमाडौं केन्द्रित आन्दोलनको तयारीमा छन् । घोषित कार्यक्रममा राजनीतिक दलसँग छलफल, किसान जागरण अभियान र किसान भेला सम्पन्न भएको यादवले बताए । कान्तिपुर दैनिकमा खबर छ ।