१४ असार २०८३, आइतबार

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार

गर्भवती र सुत्केरीको सुविधाका लागि खाँदबारी नगरपालिकाले निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान गर्ने भएको छ । 

नगरपालिकाले महिला र नवजात शिशुको संवेदनशीलतालाई दृष्टिगत गरेर बर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई निःशुल्क एम्बुलेन्स तथा पौष्टिक आहार प्रदान गर्ने भएको छ । 

आमा र बच्चालाई स्वास्थ्य र कुपोषित हुनबाट बचाउन बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले ‘बाल पोषण पोको कार्यक्रम’ ल्याएको नगर प्रमुख मुरारी खतिवडाले जानकारी दिए ।

बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने नगरपालिकाभित्रका आमालाई बाल पोषण पोको कार्यक्रमअन्तर्गत एकमुष्ट रुपमा नगद ३ हजार उपलब्ध गराइने प्रमुख खतिवडाले बताए ।

‘बालबालिका र आमालाई आवश्यक पर्ने पोषणयुक्त खानेकुरा खरिद गर्ने सहयोग पुर्‍याउने उद्देश्यका साथ आव २०७६/७७ को नीति नगर परिषद्ले पारित गरेको छ,’ उनले भने ।

बाल पोषण पोका कार्यक्रमले बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन आउनेको संख्या बढ्ने अपेक्षा गरिएको छ ।

सुरक्षित प्रसूति सेवा गराउनेलाई निःशुल्क एम्बुलेन्स सेवाको पनि व्यवस्था गरेको नगर प्रमुख मुरारी खतिवडाले जानकारी दिए । आमा र बच्चा दुवै ज्यान सुरक्षित बनाउन सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको उनको भनाइ छ ।

नगरपालिकाले नगरभित्र बसोबास गर्न गर्भवती भएका आमालाई बर्थिङ सेन्टरसम्म पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्स समेत प्रदान गरिएको प्रमुख खतिवडाको भनाइ छ । खाँदबारी नगरपालिकाभित्र जिल्ला अस्पतालसहित अन्य ३ वटा बर्थिङ सेन्टरहरू भएपनि जिल्ला अस्पतालमा मात्र दक्ष चिकित्सक उपलब्ध छन् । नगरभित्र तुम्लिङटार, सेकाहा र शीतलपाटीमा बर्थिङ सेन्टर छन् ।

सडक सञ्जाल जोडिएका जुनसुकै स्थानका गर्भवतीलाई नगरपालिकाकै एम्बुलेन्स निःशुल्क सेवा प्रदान गर्न कार्यविधि समेत बनाइएको छ । नगरपालिकाको एम्बुलेन्स उपलब्ध नभएको ठाउँमा अन्य जो कोहीको एम्बुलेन्स प्रयोग गर्न सक्ने र त्यसको बिल भरपाई नगरपालिकालाई बुझाएपछि खर्चबापतको भुक्तानी नगरपालिकाले व्यहोर्नेसमेत नगर प्रमुख खतिवडाले बताए ।

सेवा र सुविधा लिनका लागि बच्चाको जन्मदर्ता गराउन जाँदा स्वीकृत बर्थिङ सेन्टर वा अस्पतालमै बच्चा जन्माएको प्रमाणपत्र र बर्थिङ सेन्टर आउँदाको एम्बुलेन्सको बिल भरपाई लिएर जानुपर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमका लागि चालू आवमा ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्