३२ असार २०८३, बिहीबार

नेपालमा भेटिएसम्मका मास्क खरिद गर्दै चिनियाँ, झोलामा कपडाभन्दा बढी मास्क लिएर फर्किन थाले !

माघ २०, २०७६
नेपालमा भेटिएसम्मका मास्क खरिद गर्दै चिनियाँ, झोलामा कपडाभन्दा बढी मास्क लिएर फर्किन थाले !

चीनको वुहानबाट शुरू भएको नोवल कोरोना भाइरसले महामारीकै रूप लिन थालेपछि नेपालमा समेत मास्कको अभाव देखिन थालेको छ ।

नेपालबाट चीन फर्कने चिनियाँहरूले नेपाली बजारमा भेटिएसम्मका मास्क खरिद गरेर लैजान थालेपछि यसको अभाव हुन थालेको हो ।

नेपालटारकी अस्मिता रिजाल धूलोबाट जोगिन सोमवार बिहान मेडिकलमा सर्जिकल मास्क किन्न भनेर गएकी थिइन्, तर पाउन सकिनन् ।

‘आज (सोमवार) बिहान धूलोबाट जोगिन मास्क किन्न गएको पाइएन, भएको सबै मास्क चिनियाँहरूले उठाए भन्ने जवाफ मेडिकल पसलेले दिए,’ अस्मिताले लोकान्तरसँग गुनासो गरिन् ।

नेपालबाट फर्किने चिनियाँको झोलामा कपडाभन्दा धेरै मास्क हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक प्रहरी कर्मचारीले बताए ।

उनले लोकान्तरसँग भने– ‘सबैजसो चिनियाँको झोलामा मास्क देखिन्छ । कपडाभन्दा धेरै मास्क नै छन् । बट्टा खोलेर मास्क मात्रै झोलामा राखेको देखियो ।’

बट्टासमेत राख्दा धेरै नअटाउने भएकाले निकालेर मास्कमात्र राख्ने गरेको पाइएको ती प्रहरीले बताए ।

यसरी बाहिरिएको मास्कको यकिन तथ्यांक भने छैन ।

झोलामा राखेर आफूसँगै लगेका सामानको तथ्यांक नहुने भन्सार विभागका निर्देशक शिशिर घिमिरे बताउँछन् ।

‘आधिकारिकरूपमा भन्सार गरेर धेरै सामान लैजानेको तथ्यांकमात्र हामीसँग हुन्छ, झोलामा यात्रुले आफूसँगै लगेको सामानको हुँदैन,' घिमिरेले लोकान्तरसँग भने ।

चीनमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६२ नाघेको छ ।

गत डिसेम्बमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमणपछि चीनमा मास्क प्रयोग गर्नेको संख्या ह्वात्तै बढेको चिनियाँ सञ्चारमाध्यमहरूले  जनाएका छन् ।

चीनमा मास्कको अभाव हुन थालेपछि बाहिरबाट फर्किने नागरिकहरूले मास्क बोकेर लैजान थालेका हुन् ।

सर्जिकल मास्कले छेक्दैन कोरोना !

यता चिकित्सकहरूले भने सर्जिकल मास्कले कोरोना भाइरसलाई नछेक्ने बताएका छन् ।

'हामीकहाँ पाइने मास्कले कोरोनाको संक्रमण रोक्दैनन् । कोरोना भाइरस टाउको, मास्कको बाहिरी भाग, कपडा, झोला, जुत्ता, हात आदि हुँदै घरघरमा फैलिन सक्छ,' जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले फेसबूकमा लेखेका छन्, 'कोरोना संक्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो– खल्तीमा वा ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक–पटक हात सफा गर्ने । साबुन पानीले हात धोएर मात्र खाना खाने ।'

उनले अगाडि लेखेका छन्– 'हाम्रा केही बानीको कारण कोरोना संक्रमणको जोखिम उच्च छ । मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यु गर्ने, औंलालाई मुख–नाक– आँखा– कानतिर लैजाने, हात नधोइ खानेकुरा समाउने – खाने आदि ।'

salt training

कमेन्ट गर्नुहोस्