
ओखलढुङ्गामा व्यक्ति हत्याको आरोपमा एक प्रहरीसहित तीन जना पक्राउ परेका छन्।
सिद्धिचरण नगरपालिका–९ का ४१ वर्षीय पृथ्वीबहादुर बानियाँको हत्या गरेको आरोपमा स्थानीयवासी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा प्रहरीमा कार्यरत चेतबहादुर बानियाँ, सेनामा कार्यरत सन्तोष बानियाँ र व्यापारी कुमार वाग्ले रहेका छन्।
स्वास्थ्य चौकी ज्यामिरेमा कार्यरत बानियाँ गत भदौ ४ गते दिउँसो कुमार वाग्लेको घर नजिक मृत फेला परेका थिए।
तत्कालीन समयमा मदिरा सेवनका कारण बानियाँको ज्यान गएको भनिए पनि ६ महिनापछि प्रहरीले हत्या आरोपमा तीन जनाविरुद्ध मुद्दा चलाएको छ।
लामो अनुसन्धानपछि कसुर गर्ने व्यक्ति पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए। अदालतले दुई पटक म्याद थप गरिसकेको छ। सोमबार अदालतमा बयान सकिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हत्या आरोपमा पक्राउ परेर हिरासत चलान भएसँगै नेपाली सेना र प्रहरीमा कार्यरत चेतबहादुर र सन्तोष जागिरबाट निलम्बनमा परेका छन्। अदालतबाट सफाइ पाए जागिर जोडिने अन्यथा निलम्बन सदर हुने र कारवाही भोग्नुपर्ने कानूनी व्यवस्था छ।
घटना भएको समयमा उनीहरु घर बिदामा गाउँमै आएका थिए। अत्यधिक मदिरा सेवनबाट बानियाँको मृत्यु भएको विषयमा आफूहरुलाई फसाइएको उनीहरुले बयान दिएको बताइएको छ।