
फ्रान्सका लागि पूर्वराजदूत केशवराज झाको २०७५ भदौ ४ गते बबरमहलस्थित निवासमा हत्या भयो । घटनामा उनकै कामदार सानुकान्छा तामाङको संलग्नता खुल्यो । महानगरीय प्रहरी अपराध महाशाखाले सानुकान्छालाई पक्राउ गरी अनुसन्धान ग¥यो । तत्काल प्राप्त प्रमाणका आधारमा उनी छुटे पनि पछि पुनः पक्राउ परे । उनी पुर्पक्षका लागि कारागारमा छन् । काम गरेको पैसा समयमा नपाएपछि आफूले झाको हत्या गरेको बयान उनले प्रहरीसमक्ष दिए ।
बूढानीलकण्ठ निवासी पार्वती ढकालको २०७४ साउन १२ गते हत्या भयो । उक्त घटनामा पूर्वकामदार सुदामा लामिछानेको संलग्नता पाइयो । नुवाकोट घर भई काठमाडौं तारकेश्वर बस्ने सुदामालाई प्रहरीले पक्राउ ग¥यो । उनले पैसाको निहुँमा पार्वतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । सुदामासहितको टोली गरगहना चोरी गरेर भागेको थियो ।
सेन्ट जेभियर्स स्कुलमा कार्यरत फादर थोमस ई ग्याफ्नेको २०५४ मंसिर २८ गते राति हत्या भयो । प्रहरीले घटनाको १८ वर्षपछि २०७२ वैशाखमा दोलखाका ढालबहादुर खड्कालाई पक्राउ ग¥योे । कामको ज्याला नदिएका कारण ललितपुर झम्सिखेलस्थित कोठामा खुकुरी प्रहार गरी ग्याफ्नेको हत्या गरेको अभियुक्तले स्वीकार गरे । उनी दराजमा रहेको २२ हजार रुपैयाँ लिएर भागेका थिए ।
‘अधिकांश घटनामा आर्थिक लेनदेन जोडिन्छ’
कामदारले घरमालिकको हत्या यस्तै नै कारणले गर्छन् भन्ने अवस्था छैन । विगतका घटनाको विश्लेषण गर्ने हो भने पैसा जोडिएर आउँछ । लुट्ने मनसाय, काम गरेबापत पारि श्रमिक नदिने, केही दिउँला भनेर आश्वासन दिने तर पछि नदिएपछि हत्या गरेको हुन सक्छ । यौनसम्बन्धका कारण पनि कामदारले मालिकको हत्या गरेका उदाहरण छन् । कतिपयमा भने वादविवाद हुँदा आवेगमा पनि कामदारले हत्या गर्न सक्छन् । यही कारणले हत्या ग¥यो भन्ने विषय छानबिनपछि देखिने कुरा हो । जस्तो ः हामीले फादर ग्याफ्नेको हत्या घटनालाई पनि हेर्न सक्छौं । कामदारले पैसा नपाएकै कारण हत्या गरेको देखिन्छ । अधिकांश घटनामा आर्थिक लेनदेन जोडिएका छन् ।
(पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीसँगको कुराकानीमा आधारित) अन्नपूर्ण पोस्टमा खबर छ ।