२६ जेठ २०८३, मंगलबार

नरेन्द्र मोदीमाथि शिवसेनाको प्रहार : ‘बाफरे ! पूरै दिल्ली देशद्रोही’

फागुन ४, २०७६
नरेन्द्र मोदीमाथि शिवसेनाको प्रहार : ‘बाफरे ! पूरै दिल्ली देशद्रोही’
फाइल फोटो

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) सँग गठबन्धन तोडेर महाराष्ट्रमा छुट्टै प्रदेश सरकार गठन गरेको शिवसेनाले भाजपामाथि प्रहार गर्न थालेको छ ।

शिवसेनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि व्यंग्य प्रहार गर्दै पूरै दिल्ली प्रदेश ‘देशद्रोही’ रहेको प्रश्न गरेको छ ।

भाजपाले दिल्ली चुनाव प्रचारका क्रममा मुख्यमन्त्री अरबिन्द केजरीवाल देशद्रोही रहेको र उनलाई भोट नदिन आह्वान गरेको थियो । तर चुनावमा केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले ६२ सिट जितेको छ भने भाजपा ८ सिटमा सीमित भएको छ ।

दिल्ली चुनावलाई विश्लेषण गर्दै शिवसेनाको मुखपत्र सामनाले सम्पादकीयमा लेखेको छ, ‘बीजेपीका केही नेताले चुनाव प्रचारका क्रममा भनेका थिए, जो बीजेपीलाई भोट दिँदैनन्, उनी देशद्रोही हुन् । दिल्ली देशको राजधानी हो र दिल्लीले बीजेपी विरोधी मतदान गर्‍यो । अब बीजेपीले पूरै दिल्लीलाई देशद्रोही ठहराउँछ ? केजरीवालको जीतमा हजारौं जनता सडकमा आए । उनीहरू बन्दे मातरम र भारत माताकी जय भनेर नारा लगाउँदैथिए । यो देशभक्तिपूर्ण जीत बीजेपीलाई किन स्वीकार छैन ?’

दिल्लीसहित हालसालै भएका विधानसभा निर्वाचनबाट भाजपा अपराजित होइन भन्ने साबित भएको शिवसेनाले जनाएको छ । सम्पादकीयमा नरेन्द्र मोदी र अमित शाहमाथि बढी प्रहार गरिएको छ । ‘केबल दुई नेताको तागतले बीजेपी जित्न सक्दैन,’ सम्पादकीयमा लेखिएको छ, ‘अब बीजेपी यो दन्त्यकथाबाट बाहिर निस्किनुपर्‍यो ।’

दिल्लीमा केजरीवालले तेस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका छन् भने भाजपा दशकौंदेखि दिल्लीको सत्ताबाट बाहिर रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्