
पूर्व सभामुख कृष्णबहादुर महराको तर्फबाट अदालतमा वकालत गरेका अधिवक्ता एवं नेपाल बार एसोसिएनका पूर्व महासचिव रमनकुमार श्रेष्ठले ढिलैभएपनि महराले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।
जिल्ला अदालत काठमाडौंबाट महराले सोमवार सफाइ पाएपछि लोकान्तरलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता श्रेष्ठले महरामाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका हुन् ।
‘उहाँ (महरा) लाई ठूलो डिजाइनअनुसार फसाइएको थियो, राजनीतिक प्रतिशोधले फसाइएको भनेर मैले बहसमै भनेको थिएँ । 'मिसक्यारिज अफ जस्टिस' (न्यायको विचलन) भएको थियो,’ श्रेष्ठले लोकान्तरसँग भने– ‘उहाँलाई फसाउन देशभित्रबाट मात्र होइन, विदेशीको पनि हात थियो ।'
अभिवक्ता श्रेष्ठले थपे– ‘राजनीतिक करिअर भएको नेतालाई ५ महिनासम्म ठूलो मानसिक यातना दिने काम भयो ।’
सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महरा भने सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिई अदालतबाट बाहिरिएका छन् ।
न्यायाधीश अम्बरराज पौडेलको इजलासले निर्दोष ठहर गरेसँगै महरा जेलमुक्त हुँदैछन् । गत कात्तिकदेखि महरा डिल्लिबजार कारागारमा थुनामा थिए ।
बबरमहलस्थित जिल्ला अदालतबाट सिधै डिल्लीबजार कारागार प्रस्थान गरेका महरालाई अदालतको फैसलासम्बन्धी पत्र प्राप्त भएपछि रिहा गरिने कारागार प्रशासनले जनाएको छ ।
संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।
बलात्कार प्रयासजस्तो गम्भीर आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।
महरा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा अघि बढेको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन कात्तिक १८ गते आदेश दिएको थियो ।
महराविरुद्ध किटानी जाहेरी दिने महिलाले यसबीचमा बयान फेर्दै महरालाई रिहा गर्न अदालतमा लिखित निवेदन नै दिएकी थिइन् ।