३० असार २०८३, मंगलबार

गल्ती गर्ने कसैलाई छुट हुँदैन : अध्यक्ष प्रचण्ड

फागुन १०, २०७६
गल्ती गर्ने कसैलाई छुट हुँदैन : अध्यक्ष प्रचण्ड
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् ।

प्रेस संगठन नेपाल नवलपुरद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे ।

‘सञ्चारमन्त्रीको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ,’ अध्यक्ष दाहालले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौं । म अहिले यति मात्रै भन्न चाहन्छु ।’

अध्यक्ष दाहालले अहिले चर्चामा रहेको एमसीसीबारे नेकपाले बनाएको अध्ययन कार्यदलले शुक्रवार मात्रै दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको भन्दै आफूहरू सो प्रतिवेदन अध्ययनका क्रममा रहेको बताए ।

कार्यदलबाट आएको सुझावलाई परिमार्जन गरेर अगाडि बढ्ने भएकाले आफूहरूले अध्ययन गरिरहेको उनले बताए । ‘एमसीसी परिवर्तन नै हुन नसक्ने दस्तावेज नभएकाले परिमार्जित गरेर अगाडि बढाउने तयारी भइरहेको छ,’ उनले भने, ‘यो विषयमा सचिवालयले छलफल गरेर त्यसलाई टुंगोमा पुर्‍याउने छ ।’

अध्यक्ष दाहालले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र व्यापक छलफल भइरहेको बताउँदै पछिल्लो समय सरकारले काममा गति लिएको र आउने दशकलाई विकासको दशक, युवाहरूलाई आमरुपमा रोजगारीको दशक र समृद्धिको नयाँ आधारशिला बनाउन चाहेको उल्लेख गरे ।

आउने दशक आम नेपाली युवाहरूलाई नयाँ युगतिर लैजाने दशक हुनेमा भरोसा गर्नसमेत उनले आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्