
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमवार राजासमक्ष राजीनामा पत्र पठाएको प्रधानमन्त्री कार्यालयले छोटो बयान जारी गरेर जनाएको छ ।
तर उनलाई संसद्को कार्यकाल रहुन्जेल पदमा बसिरहनका लागि माग उठ्ने सम्भावना रहेको बताइएको छ ।
महाथिरको राजीनामासँगै उनको दल पार्टी प्रिबुमी बेर्सातु मलेसियाले सत्तारूढ पाकातान हारापान गठबन्धन त्यागेको घोषणा गरेको छ ।
अनि अनवर इब्राहिमको पार्टी कीयादिलान राक्यातका ११ सांसदले पनि पार्टी परित्याग गरेर स्वतन्त्र खेमा बनाएका छन् । पार्टी छोड्ने सांसदहरूलाई दलका उपाध्यक्ष अजमिन अलीले नेतृत्व दिएका छन् । उनी बहालवाला सरकारमा अर्थमन्त्री र आवासमन्त्री हुन् ।
यी सांसदहरूले छोडेपछि सत्तारूढ गठबन्धनले संसदमा सामान्य बहुमत गुमाएको छ र सरकार ढलेको छ ।
महाथिर मोहम्मदको राजीनामा रणनीतिक भएको मानिएको छ । ९४ वर्षीय महाथिरलाई सन् २०२३ मा हुने आमनिर्वाचनअघि नै अनवरले प्रतिस्थापन गर्ने भनी भएको सहमतिलाई भत्काउन महाथिरको राजीनामा आएको विश्लेषकहरूले बताएका छन् ।
राजाले महाथिरको राजीनामा अस्वीकृत गर्दै उनीसँगै संसद्को बहुमत रहेको भन्ने एक स्रोतले द स्ट्रेट्स टाइम्सलाई बताएको छ ।