
काठमाडौँमा पछिल्लाे पटक सडकबाट ७ सय ४९ जनाको उद्धार गरिएको छ। काठमाडौं महानगरपालिकाले मागेर गुजारा चलाउनेलाई उद्धार गरेर व्यवस्थापन गर्दै आएको छ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार मंसिर २९ गतेबाट शुरु भएको अभियानबाट फागुन ११ गतेसम्म ७ सय ४९ जनालाई उद्धार गरिएको हाे। यीमध्ये ६ सय ९६ जनालाई काठमाडौं महानगरपालिका क्षेत्रभित्रबाट र ५३ जनालाई अन्य नगरबाट उद्धार गरिएको हो ।
यीमध्ये ७३ जनाको स्थायी ठेगाना काठमाडौं महानगरपालिका हो भने ४१ जनालाई आफ्नो स्थायी ठेगाना नै थाहा छैन। उद्धार गरिएकामध्ये ५ सय ८८ जनालाई परिवारसँग पुनर्मिलन गराइएको उनले जनाए। ४५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। तथ्याङ्क प्रस्तुत गर्दै अधिकारीले भने, ‘७० जनाको स्क्रिनिङ् हुन बाँकी छ । ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने ७ जनाको मृत्यु भएको छ।’
उद्धार गरिएका व्यक्तिको अवस्था हेरीकन स्क्रिनिङ् सेन्टरमा कम्तीमा ५ दिन र बढीमा ७० दिनसम्म राख्ने गरिएको छ। यसरी सडकबाट उठाइएका व्यक्तिहरुमा १६ वर्षमाथि ४० बर्षभन्दामुनि पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन्।
काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले उक्त अभियानका लागि प्रभावकारी बनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मानव अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिसँग बसेर कार्यक्रम अघि बढाइने बताए।
सडकलाई बेसहारा, अभिभावनविहीहन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त बनाउन गठित मुल समारोह समितिको बैठकमा उक्त जानकारी दिइएको हो।