
जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा व्यवस्थापनले आर्थिक अनियमितता गरेको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र सीपमूलक तालीमका लागि ल्याइएको बजेट व्यवस्थापनले आफ्नो परिवारका लागि खर्च गरेको भन्दै नेपाल अपाङ्ग सङ्घ, सङ्घर्ष समितिले आज कार्यालय अगाडि प्रदर्शनसमेत गरेको छ ।
सङ्घर्ष समितिले सङ्घका नाममा रहेको जग्गामध्येबाट पाँच आना जग्गा निवर्तमान अध्यक्ष मोहन महर्जन नेतृत्वको व्यवस्थापनले कसैलाई जानकारी नदिई बेचेको आरोप लगाउँदै दुई महिनादेखि कार्यालयमा ताला लगाएको छ ।
समितिका अध्यक्ष नरकुमारी कार्कीले तत्कालका लागि कुनै पनि काम कारवाही अगाडि नबढाउन भनी सर्वोच्च अदालतले दिएको आदेश विपरीत सङ्घको निर्वाचन गरिएकामा आपत्ति जनाए। सङ्घले खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अपाङ्गता नभएका व्यक्तिलाई भर्ना गरिएकामा विरोध गरेको छ ।