
संसारका सबभन्दा वृद्ध पुरुष चितेचु वातानाबेको ११२ वर्षको उमेरमा मृत्यु भएको छ । जापानको नीगाता प्रिफेक्चरले मंगलवार एक बयान जारी गरेर उनको मृत्यु जानकारी दिएको हो ।
वातानाबे नीगाताको एक नर्सिङ होममा बस्ने गर्थे । उनको जन्म सन् १९०७ को मार्च ५ मा भएको थियो । उनलाई १३ दिनअघि गिनिज वर्ल्ड रेकर्डले सबभन्दा वृद्ध पुरुष भनी आधिकारिक रूपमा पुष्टि गरेको थियो । उनको मृत्यु आइतवार भएको हो ।
कागजातले पुष्टि गरेसम्म संसारका सबभन्दा वृद्ध मानिसको उपाधि पाउन उनी चार वर्षले चुके । जापानकै जिरोएमोन किमुराको मृत्यु ११६ वर्ष ५४ दिनमा भएको गिनिजले जनाएको छ ।
सन् २०१९ को जनवरी महिनामा एक स्थानीय पत्रिकासँग कुरा गर्दै वातानाबेले दीर्घायुको रहस्य बताएका थिए– नरिसाउनु अनि अनुहारमा मुस्कान राखिरहनु ।