११ साउन २०८३, सोमबार

रावलले लगाए ओली गुटले विशिष्ट कक्षमा छिर्न नदिएको आरोप

फागुन १८, २०७६
रावलले लगाए ओली गुटले विशिष्ट कक्षमा छिर्न नदिएको आरोप

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले धनगढी विमानस्थलमा आफ्नो अपमान भएको बताएका छन् ।

पार्टीको सुदूरपश्चिम भेला तथा प्रशिक्षण कार्यक्रमका लागि उनी शनिवार बिहान श्री एयरको जहाजबाट धनगढी ओर्लिएका थिए ।

नेकपाको सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका उनलाई विशिष्ट कक्षतिर जान सेनाले रोकेको थियो । सेनाले हातको इसाराले यात्रुमार्गतिर पठाएको नेता रावलले सुनाए ।

प्रदेश पार्टी कार्यालयमा उनले यो घटनाले अचम्मित तुल्याएको बताए । 'जनताले प्रतिनिधि चुनेर पठाएका व्यक्ति हौँ, हामीले पनि हिजोका दिनमा देशको प्रमुख/उपप्रमुख जिम्मेवारी सम्हालेका हौँ,' उनले भने, 'तर विमानस्थलमा किन यस्तो गरियो ?'

पार्टीका प्रदेश अध्यक्ष कर्ण थापा, सहअध्यक्ष भानुभक्त जोशी र जिल्ला सदस्य दुर्गाप्रसाद जोशीले आफूलाई देखे पनि विशिष्ट कक्षमा जान नभएको उनले सुनाए । 'मैले पार्टीका प्रदेश अध्यक्ष, सह अध्यक्ष र जिल्ला सदस्यलाई विशिष्ट कक्षमा जान लागेको देखिरहेको छु तर मलाई रोकियो,' उनले भने, 'त्यसमा सेनाको कुनै दोष छैन ।'

थापा ओलीनिकट नेता मानिन्छन् ।

आदेश पालना गर्ने भएकाले सेनाले रोक्नु स्वाभाविक भएको उनले बताए ।

उनी चढेर आएको जहाजबाटै राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार बिहान काठमाडौँ फर्किने तय भएको थियो ।

विमानस्थलको विशिष्ट कक्ष बिहानदेखि कडा सुरक्षा घेरामा थियो । सेनाले सुरक्षा जांच गरिरहेका बेला रावललाई विशिष्ट कक्षमा प्रवेश रोकिएको हो ।  

salt training

कमेन्ट गर्नुहोस्