
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतवार बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ । पछिल्लो समयमा देखिएको पार्टी र सरकारको मतभेद हल गर्न सचिवालय बैठक बोलाइएको हो ।
गत बुधवार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्यमा लैजान सरकारलाई सिफारिस गर्न गरेको निर्णयलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएका थिए ।
अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडालाई नै राष्ट्रिय सभामा लैजाने प्रधानमन्त्री ओलीको अडानले नेकपाभित्र विवाद निम्तिएको हो । पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न सचिवालयका सदस्यहरूले निरन्तर सुझाव दिइरहेका छन् ।
आज बस्न लागेको सचिवालय बैठकमा पनि प्रधानमन्त्रीलाई पार्टी निर्णय कार्यान्वयन गर्न दबाब दिइने एक सचिवालय सदस्यले बताए ।
'आज सचिवालय बोलाइएको छ, उहाँ आफैंले अध्यक्षता गरेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न किन आनाकानी गरेको भनेर प्रश्न सोध्ने हाम्रो तयारी छ,' ती सचिवालय सदस्यले लोकान्तरसँग भने ।
पार्टीभित्र निम्तिएको विवाद समाधानका लागि वरिष्ठ नेता माधवकुमार नेपाल निरन्तर खटिएका छन् ।
उनले गौतमलाई राष्ट्रिय सभामा लैजाने र संवैधानिक प्रावधान अनुसार नै खतिवडालाई मन्त्री पदमा निरन्तरता दिएर मध्यमार्गी विकल्प निकाल्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।