२१ असार २०८३, आइतबार

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्दै ओली, कसले दिँदैछ यसपटक ?

फागुन १८, २०७६
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्दै ओली, कसले दिँदैछ यसपटक ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बुधवार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् ।

आइतवार बसेको नेकपा सचिवालय बैठकमा ओलीले बुधवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी गराएका हुन् । 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रत्यारोपणका लागि ओली सोमवार नै अस्पताल भर्ना हुनेछन् । ‘आज छलफल भएको विषय यही एउटा हो,’ प्रवक्ता श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरूसँग भने ।

ओलीले २०६३ सालमा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए । त्यतिबेला ओलीलाई बुहारी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन् । 

यसपटक मिर्गौला दिने व्यक्तिको नाम गोप्य राखिएको छ । ‘मिर्गौला दिने व्यक्ति तय भइसकेको छ, मिर्गौला दिनेको समेत स्वास्थ्य जाँच गराइसकिएको छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार प्रधानमन्त्रीलाई नाता पर्ने एक युवतीले मिर्गौला दिँदैछिन् । मिर्गौला प्रत्यारोपण गराइसकेपछि प्रधानमन्त्री ओलीले केहीदिन आराम गर्नुपर्नेछ । 

नेकपाको बाग्मती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलालाई बिहीवार सम्बोधन गर्दै ओलीले आफूले केही दिनमै मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी गराएका थिए ।

त्यसक्रममा ओलीले भनेका थिए, ‘५ दिन अस्पताल बस्छु, छैटौं दिनमा घर फर्किएर काम शुरू गर्छु ।’

यसअघि देशबाहिर मिर्गौला प्रत्यारोपण गरिएको भएपनि यसपटक ओलीले स्वदेशमै प्रत्यारोपण गर्ने बताएका थिए ।

प्रत्यारोपणको योजना केही समयअघिकै भएपनि मंसिरमा एपेन्डिसाइटिसको अप्रेसन गर्नुपरेका कारण ढिला भएको बालुवाटार स्रोत बताउँछ ।

salt training

कमेन्ट गर्नुहोस्