
फेसबुक र युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापन गरेपछिको भुक्तानी अनौपचारिक माध्यमबाट गरे कारबाहीको चेतावनी दिएको राष्ट्र बैंकले एक महिना बितिसक्दासमेत नियमन कार्यविधि बनाउन सकेको छैन ।
गत माघ १७ गते औपचारिक माध्यमबाट भुक्तानी नगरे कारबाही गर्ने र यसका लागि कार्यविधि १०/१५ दिनमै जारी हुने दाबी गरेको थियो । ‘सुरुमा क्यान, एडभरटाइजिङ एजेन्सी, मनी चेञ्जरलगायत सरोकारवालासँग छलफल भएको थियो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘क्यानलगायत एजेन्सीलाई लिखित सुझाव पठाउन भनिएको थियो, आजसम्म पनि सुझाव आएन ।’ हालका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिन लागेको अवस्थामा राष्ट्र बैंकले आन्तरिक तयारी नै नगरेकाले कार्यविधि जारी गर्न अझै केही समय लाग्ने ती अधिकारीको दाबी छ ।
राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सामाजिक सञ्जाल र अनलाइनमार्फत हुने विज्ञापनबापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्न आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन गरिने उल्लेख थियो । तर सात महिनासम्म पनि कार्यविधि बनेको छैन । भुक्तानी औपचारिक प्रणालीमार्फत गर्न तयार भए पनि विधि र प्रक्रिया स्पष्ट नपारिदिँदा अन्योल भएको सरोकारवालाको गुनासो छ । ‘औपचारिक माध्यमबाट भुक्तानी गर्ने विधि र प्रक्रिया अझै ल्याइएको छैन, अन्योल भएको छ,’ क्यान महासंघका पूर्वअध्यक्ष विनोद ढकालले भने, ‘राष्ट्र बैंकले यथाशीघ्र स्पष्ट गर्नुपर्छ ।’ विज्ञापनका नाममा विदेशी मुद्रा अपचलनको समेत सूचना पाएको भन्दै राष्ट्र बैंकले एक महिनाअघि कारबाहीको चेतावनीपूर्ण सूचना जारी गरेको थियो । तर स्पष्ट कानुनी व्यवस्था नगरिदिँदा अझै पनि अनौपचारिक माध्यमबाटै भुक्तानी भइरहेको हुन सक्ने जानकार बताउँछन् ।
विज्ञापनको भुक्तानीका लागि बैंकिङ प्रणालीमार्फत गर्न समस्या नभए पनि उक्त प्रणालीमार्फत सानो रकम पठाउन नमिल्ने भएकाले अनौपचारिक माध्यम नै प्रयोगको बाध्यता रहेको एक अधिकारीले बताए । ‘सामाजिक सञ्जालमा हुने विज्ञापनको भुक्तानी अनौपचारिक प्रणालीबाट नगर्न सूचना जारी गरे पनि त्यस्तो कारोबार भए/नभएको बारे राष्ट्र बैंकले नियमन गरेको छैन,’ उनले भने, ‘सूचना जारी गर्यो पुग्यो । नियमन र स्पष्ट कानुनी व्यवस्था नहुँदा अनौपचारिक माध्यम प्रयोग गर्नुको विकल्प छैन ।’ यसकारण अनधिकृत कारोबार रोक्न पनि कार्यविधि आवश्यक रहेको ती अधिकारीले बताए ।
फेसबुक, युट्युबमा विज्ञापन बैंकबाटै भुक्तानी नगरे कारबाही
सूचना जारी गरेपछि सामाजिक सञ्जालमा हुने विज्ञापनको अनौपचारिक प्रणालीबाट हुने भुक्तानी घटेको राष्ट्र बैंकले दाबी छ । ‘निकै कम भएको छ, यसअघि अनौपचारिक माध्यमको भुक्तानीमा संलग्न संस्था/कम्पनी पनि अनुमतिका लागि आएका छन्,’ राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख बमबहादुर मिश्रले भने । एक महिनामा करिब तीन दर्जन संस्था बुझ्न आएकामा केहीले अनुमति पनि पाएको उनको भनाइ छ । कार्यविधि निर्माणको काम अन्तिम चरणमा रहेकाले छिटै जारी हुने उनले बताए । राष्ट्र बैंकले सामाजिक सञ्जालमा हुने विज्ञापन रोकेको नभई तिनको भुक्तानीलाई औपचारिक प्रणालीमा मात्र ल्याउन लागेकाले त्यति धेरै समस्या नरहेको उनले दाबी गरे ।
सामाजिक सञ्जालमा हुने विज्ञापनमार्फत धेरै विदेशी मुद्रा अपचलन भएको सूचना प्राप्त भएको भन्दै राष्ट्र बैंकले त्यसकै आधारमा गत माघ १७ गते सूचना जारी गरी वैधानिक प्रणालीबाट मात्र त्यस्तो भुक्तानी गर्न आग्रह गरेको थियो । अनधिकृत कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले संलग्नलाई कारबाही हुने चेतावनी दिइएको थियो ।
सामाजिक सञ्जालमा रकम भुक्तानी गर्न व्यवस्थित ‘पेमेन्ट गेटवे’ नभएकाले अधिकांश विज्ञापनदाताले अनौपचारिक माध्यमबाट भुक्तानी गर्दै आएका छन् । उनीहरूले विदेशमा बस्ने आफन्त वा विदेशी कम्पनीका तर्फबाट भुक्तानी गर्न लगाई पैसा पठाउने गरेको राष्ट्र बैंकको अनुमान छ ।
राष्ट्र बैंकको पछिल्लो निर्देशनपछि युट्युबजस्ता सामाजिक सञ्जालमा भिडियो बनाएर आम्दानी गर्दै आएका नेपालीले पनि बैंकिङ प्रणालीमार्फत रकम लिनुपर्नेछ । त्यस्ता भिडियोमा विज्ञापन राखेबापत युट्युबले निश्चित प्रतिशत भिडियो निर्मातालाई उपलब्ध गराउँछ । उक्त रकम प्रायः ले विदेशमा रहेका आफन्त तथा साथीभाइको खातामा जम्मा गर्ने र अनौपचारिक माध्यमबाट नेपाल भित्र्याउने गरेको गुनासो आएकाले सूचना राष्ट्र बैंकलाई प्राप्त भएको थियो । औपचारिक माध्यमबाट यसरी सिफारिस लिएर सामाजिक सञ्जालमा विज्ञापनबापतको रकम भुक्तानी गर्नेको संख्या निकै कम छ । कान्तिपुर दैनिकमा खबर छ ।