२२ जेठ २०८३, शुक्रबार

सुनकोसी–२ ले २ राजमार्ग र २ सहर डुबाउने

फागुन २२, २०७६
सुनकोसी–२ ले २ राजमार्ग र २ सहर डुबाउने
फाइल तस्वीर

पूर्वाधार विकास योजना तयार गर्दा एकै मन्त्रालयका सरकारी निकायबीच पनि समन्वय नगरी र अदूरदर्शी निर्णय गर्दै ऊर्जा मन्त्रालयले सुनकोसी केन्द्रित चार आयोजना अघि बढाएको छ । साथै बनिसकेको र निर्माणाधीन दुई राजामार्ग पनि त्यहीआसपास छन् । 

ऊर्जा मन्त्रालयले सुनकोसीआसपास सुनकोसी २, सुनकोसी ३, सुनकोसी–मरिन डाइभर्सन, सुनकोसी कमला डाइभर्सन आयोजना अघि बढाएको हो । साथै भौतिक पूर्वाधार मन्त्रालयले बिपी राजमार्ग र मध्यपहाडी राजमार्ग पनि यतैबाट जान्छन् । 

सबै आयोजना बनाउन सम्भाव्य देखिँदैन । तर, एक आयोजना बने अर्कोलाई पूर्ण रूपले प्रभावित गर्ने गरी योजना तर्जुमा भएका छन् । १ हजार १ सय १० मेगावाट क्षमताको सुनकोसी २ र ६ सय ४० मेगावाट क्षमताको सुनकोसी २ जलाशययुक्त आयोजनाको पहिचान ०४२ मै भएको हो । तर, अहिले आएर सरकारले यी दुई परियोजना निर्माण गर्न लगानीकर्ता तथा प्रवद्र्धक खोजिरहेको छ । 

यी दुई आयोजनालाई लगानी बोर्डले गत चैतमा आयोजना गरेको लगानी सम्मेलनमा ‘सोकेस’मा समेत राखेको थियो । यी आयोजना बने निर्माणाधीन मध्यपहाडी लोकमार्ग (रामेछाप र काभ्रेका भूभाग) र जापान सरकारको अनुदान सहयोगमा बनेको बिपी राजमार्गको ४२ किलोमिटर भाग डुबानमा पर्ने अध्ययनले देखाएको छ । त्यस्तै, सहरी विकास मन्त्रालयले मध्यपहाडी लोकमार्गका आसपास विकास गर्ने भनेको १० नमुना सहरमध्ये सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली र काभ्रेको दोलालघाट बजार पूर्ण रूपमा डुबानमा परी विस्थापित हुने अध्ययनले देखाएको छ । 

यो तथ्यलाई स्वयं ऊर्जामन्त्री वर्षमान पुनसमेत स्विकार्छन् । ‘सुनकोसी–२ मा घनाबस्ती पर्ने भएकाले तुलनात्मक रूपमा यसको सामाजिक तथा पर्यावरणीय क्षतिका हिसाबले महँगो पर्ने देखिन्छ,’ पुन भन्छन्, ‘तर, यो आयोजना बन्न सके आर्थिक समृद्धि हुने देखिन्छ ।’ 

विद्युत् विकास विभागको पछिल्लो अध्ययनअनुसार यो आयोजनाका लागि करिब १ सय ६० मिटर उचाइको ड्याम र ५३ किलोमिटर लामो जलाशय निर्माण हुनेछ । यसको बाँधस्थल सिन्धुली र रामेछापको सिमानामा पर्ने कुडुले हुनेछ । यो जलाशयले मन्थली, खुर्कोटका साथै ६ हजार ३ सय हेक्टर डुबानमा पर्नेछ । 

सुनकोसी २ भन्दा सुनकोसी ३ आयोजना नै उचित 

त्यस्तै सुनकोसी–३ आयोजनाबाट करिब १ हजार परिवार पूर्णरूपमा विस्थापित हुने अध्ययनबाट देखिएको छ । ४ हजार २ सय हेक्टर डुबानमा पर्नेछ । आयोजनाले काभ्रेको दोलालघाट बजार पूरै डुबानमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

‘यी दुई आयोजनाबारे सम्बन्धित निकायबीच ठोस निर्णय हुन बाँकी नै रहेकाले लगानी आह्वान गरिए पनि हाललाई विचाराधीन नै राखिएको छ,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने । सुनकोसी २ ले पार्ने क्षतिको तुलनामा सुनकोसी ३ ले पानी क्षति कम हुने हुनाले सुनकोसी ३ जलाशययुक्त जलविद्युत् आयोजना अघि बढाउनु उपयुक्त हुने केही विज्ञको भनाइ छ । 

सुनकोसी–१ जलविद्युत् आयोजना सुनकोसी–कमला डाइभर्सन सिँचाइ आयोजनाको बाँधस्थलभन्दा माथिल्लो तटमा पर्छ । सुनकोसी र दूधकोसीको संगमस्थलभन्दा केही तल सुनकोसी–कमलाको बाँध बनाउने योजना छ । त्यस्तै, सुनकोसी २ को बाँध सुनकोसी–मरिन डाइभर्सनको बाँधस्थलभन्दा १० किलोमिटर तल सिन्धुली र रामेछापको सिमानामा पर्ने कुडुलेमा बनाइनेछ । त्यस्तै, सुनकोसी–३ को बाँधस्थल भने सुनकोसी र रोसी खोलाको संगमस्थलभन्दा माथि सुनकोसी नदीमा बनाउने योजना छ । ठूलो भौतिक संरचनासहित धेरै स्थानीय विस्थापित हुने भएकाले सुनकोसी २ भन्दा सुनकोसी ३ नै उपयुक्त हुने विज्ञको ठम्याइ छ । 

विकल्पमा सुनकोसी–मरिन र सुनकोसी–कमला डाइभर्सन 

सरकारले सुनकोसी–मरिन डाइभर्सन सिँचाइ तथा ऊर्जा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर महत्व दिएको छ । यो आयोजनाले समेत खुर्कोट क्षेत्रमा ३ किलोमिटर बिपी राजमार्ग डुबानमा पर्छ । डिपिआर तयार गरी सुरुङ निर्माणको डिजाइन र जग्गा अधिग्रहणको कामसमेत दु्रत गतिमा अघि बढिरहेको छ । यो आयोजनामार्फत प्रदेश २ का ५ जिल्लाका १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । त्यस्तै, सुनकोसी–कमला डाइभर्सन सिँचाइ आयोजनासमेत अघि बढाएको छ । र, जलस्रोत तथा सिँचाइ विभागले हालै निर्माण गरेको नयाँ सिँचाइ गुरुयोजनामा समेत यी दुवै आयोजनालाई महत्वका साथ राखेको छ । 

‘सप्तरीदेखि बारासम्म प्रदेश २ का मुख्य खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउन सकिने मुख्य नदी नै बागमती र कमला हुन्,’ सुनकोसी–मरिन डाइभर्सन आयोजनाका प्रमुख सुशील आचार्यले भने, ‘सुनकोसीको पानी डाइभर्ट (परिवर्तन) गरी ती दुवै नदीमा लैजाने योजना हो, यसको अन्य कुनै विकल्प छैन । यी दुवै आयोजनाले मानवबस्ती, राजमार्गजस्ता पूर्वाधारमा निकै नगण्य मात्रै क्षति पार्छन् ।’ उनका अनुसार सुनकोसी २ र ३ दुवै बने पनि दुई डाइभर्सन सिँचाइ आयोजनालाई विस्थापित गर्दैनन् । बरु ती आयोजनाको जलाशयले सिँचाइ आयोजनालाई सहयोग गर्छन् ।  नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्