
२०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न इजाजतपत्र प्राप्त गरी २०७५ फागुण २२ गतेदेखि बैंकिङ कारोबार शुुभारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको १ वर्ष पूरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) लाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरी प्रथम वार्षिकोत्सव मनाएको छ ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) का महासचिव गणेशभक्त श्रेष्ठलाई चेक हस्तान्तरण गरेको थियो ।
काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर काठमाडौंमा रजिस्टर्ड कार्यालय रहेको बैंंकको हाल अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ भने बैंकले निकट भविष्यमा सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।
जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनामा स्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी त्यस प्रकारका परियोजनालाई आवश्यक पर्ने स्रोत उपलब्ध गराउने लक्ष्य लिएको बैंकले जनाएको छ ।