२० असार २०८३, शनिबार

एकतालाई खल्बलाउने कुनै पनि कुरामा छुट दिनु हुँदैन : नेकपा प्रवक्ता श्रेष्ठ

फागुन २४, २०७६
एकतालाई खल्बलाउने कुनै पनि कुरामा छुट दिनु हुँदैन : नेकपा प्रवक्ता श्रेष्ठ
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता  नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताएका छन् ।

प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले समाजवाद निर्माणको आधार तयार गर्न सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताएका हुन् ।

‘सरकारलाई सफल नबनाइए जनतामा निरासा छाउँछ, मुलुकको सामाजिक र आर्थिक रुपान्तरण हुन सक्दैन, वैदेशिक हस्तक्षेप वृद्धि र प्रतिगमनमा खतरा उत्पन्न हुनसक्छ,’ उनले भने ।

प्रवक्ता श्रेष्ठले पार्टीलाई विग्रहमा लैजाने वा एकतालाई खल्बलाउने कुनै पनि कुरा छुट दिन नहुने भन्दै सरकारले सुशासन र विकासमार्फत समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिए ।

उनले यसका लागि वस्तुपरक र अध्ययनशील  पत्रकारिता गर्न पत्रकारलाई आह्वान गर्दै मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेका भूमिका असाधारण रहेका चर्चा गरे । पार्टी र सरकारलाई तीव्रगतिका साथ अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणका लागि सक्रिय हुनुहुनेमा विश्वास व्यक्त गर्दै उनले सूचना प्रविधिको विकाससँगै अझ बढी प्रेस जगतको आवश्यकता बढेको जनाए ।

सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उनले रणनीतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार रहेको उनको भनाइ थियो । उनले जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादको विचारलाई हाल थाति राखी समाजवादोन्मुख जनताको जनवादलाई कार्यक्रमका रुपमा अघि सारको स्पष्ट गरे ।

नेकपाका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीका इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जनतालाई यथार्थपरक सूचना प्रवाह गरी प्रेस संगठनलाई जवाफदेहिताका साथ अघि बढ्न आग्रह गरिन् । पत्रकारिता क्षेत्रमा महिला पत्रकारको सहभागिता बढाउनुपर्ने भन्दै उनले संगठन तथा पार्टीलाई समानुपातिक तथा विभेदमुक्त बनाउनुपर्ने बताइन् ।

प्रेस संगठनका इन्जार्च तथा केन्द्रीय सदस्य राजेन्द्र गौतमले संगठनका पत्रकारले पार्टी र सरकारको सकारात्मक आलोचनासमेत आवश्यक रहेको औंल्याउँदै समस्यालाई आन्तरिक छलफलका माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय सदस्य, प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संगठनलाई लोभलाग्दो र भरलाग्दो बनाउनुपर्नेमा जोड दिँदै पार्टी नै प्रेरणाको स्रोतका रुपमा हुनुपर्ने बताए । उनले सञ्चार क्षेत्रमा विभिन्न प्रकारका सुधारका बारेमा संगठनले विगत लामो समयदेखि बहस चलाउँदै आएको र सरकारले सोहीअनुसार संस्थागतरुपमा कानूनी आधार तयार गरेको बताए । उनले संविधानसँग बाझिने कुनै पनि कानून नबन्ने उल्लेख गर्दै बनेमा पनि अदालतले खारेज गर्ने स्पष्ट संवैधानिक अधिकार रहेको स्पष्ट पारे ।

नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले बागमती प्रदेशले सबै संगठन एकताका कार्य सम्पन्न गरिसकेको उल्लेख गर्दै पार्टीलाई आम नेपाली जनताका बीचमा सुदृढ तथा एकताबद्ध बनाउँदै लैजाने बताए ।

संगठनका केन्द्रीय संयोजक महेश्वर दाहालले प्रदेश तथा जिल्लाका सदस्यलाई शपथ ग्रहण गराउँदै पार्टीअनुसार संगठन गतिशील र एकीकृत ढंगले अघि बढेको उल्लेख गरे । पार्टी, सरकार र जनताबीच जोड्ने महत्त्वपूर्ण जिम्मेवारी प्रेस संगठनको रहेको उल्लेख गर्दै उनले पार्टी र संगठनको एजेण्डा गतिशील र उत्कृष्ट हुनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्