
स्वस्थ सहर बनाउने भन्दै दुई वर्षअघि काठमाडौँ महानगरपालिकाले धुम्रपान निषेध अभियान नै चलायो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका कार्यालयले पनि अभियानमा सघाए । यी दुई निकायले अस्पताल वरपर बेच्न राखिएका सूर्तीजन्य पदार्थमा रोक नै लगाए ।
अहिलेअभियानको खिल्ली उडाउदै अस्पतालजस्तो संवेदनशील ठाउँमै खैनीचुरोट बिक्री भइरहेको छ ।
सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न राम्रो कानून बनाएको भन्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाल पुरस्कृतसम्म भइसकेको छ । तर कार्यान्वयन पाटो फितलो हुँदा अस्पतालमात्रै होइन, सार्वजनिक स्थल र सरकारी कार्यालयमै सूर्तीजन्य पदार्थको बिक्री रोकिएको छैन ।
राजधानीको प्रसूति गृह, वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालका मूल ढोकामै सूर्तीजन्य पदार्थ बिक्री हुन्छ । कानून कार्यान्वयन गराउने स्वास्थ्य मन्त्रालयको मूल गेट नजिकसमेत नाङलोमा खैनी, चुरोट बेच्न राखिएको देखिन्छ ।
सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार अस्पतालको एक सय मिटर दूरी वरपर यस्ता पदार्थको प्रयोग र बिक्रीवितरण गर्न पाइँदैन । ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, सिगरेट, तमाखु, सुल्फा, कक्कड़, खैनी, गुट्खाको प्रयोग र बिक्रीवितरणमा रोक लगाएको छ । त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डाक्टर निरन्जन बमले अस्पताल वरपर सूर्तीजन्य पदार्थ बेच्न राखिँदा कतिपय बिरामी सेवन गरेरै वार्डमा छिर्ने गरेको बताए ।
'अस्पतालको मूलगेटमै बेच्न राखेपछि चुरोटको तलतल लागेका बिरामीले समेत बाहिर गैर सेवन गर्ने गरेको पाइएको छ,' उनले भने, 'रोग नलागेकाले पनि अस्पताल नजिक चुरोट खाइदिँदा हावाको माध्यमबाट कमजोर बिरामीको फोक्सोमा धुँवा पुग्छ । चुरोट खाएसरह उसलाई असर पर्छ ।' आजको कान्तिपुर दैनिकमा खबर छ ।