
काठमाडौं, ६ वैशाख –चालू आर्थिक वर्ष (आव) २०७३/७४ को पहिलो ९ महिनामै एनआईसी एसिया बैंकले १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
बैंकले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक विवरण अनुसार बैंकले चैतसम्ममा १ अबए १३ करोड ८४ लाख १ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । चालू आवमा बैंकले गरेको यो नाफा गत आवको भन्दा झण्डै ५० प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा बैंकको मुनाफा ७५ करोड ९५ लाख ३२ हजार रुपैयाँमात्र थियो ।
त्यस्तै, गत चैतसम्ममा बैंकले खुद ब्याज आम्दानीमात्रै १ अर्ब ८४ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो ब्याज मुनाफा १ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ थियो ।
तेस्रो चौमासिकसम्ममा बैंकको कुल सञ्चालन मुनाफा २ अर्ब ४८ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा १ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ थियो ।
सोही अवधिमा नियमित गतिविधिबाट बैंकले १ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ मुनाफा गरेको छ अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा १ अर्ब १९ करोड ९३ लाख रुपैयाँ थियो ।
चालू आवको चैतसम्ममा बैंकको बोनस र करअघिको मुनाफा १ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो मुनाफा १ अर्ब १९ करोड ३५ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।
चैतसम्ममा बैंकको चुक्ता पूँजी ६ अर्ब ३५ करोड ७९ लाख पुगेको छ । एक वर्षको अवधिमै बैंकले चुक्ता पूँजी झण्डै दोब्बरले बढाउन सफल भएको छ ।
बैंकको सेयर आम्दानी भने यो अवधिमा घटेको देखिएको छ । तेस्रो चौमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी २७ रुपैयाँ ४२ पैसा थियो । त्यस्तै, मूल्य आम्दानी अनुपात १८ दशमलव ५० छ ।
बैंकको तरलता अनुपात २६ दशमलव ६६ प्रतिशत छ ।
मुलुकको राजनीतिक अस्थितरता, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव, बढ्दो कर्जाको ब्याजदरले कर्जाको मागमा आएको सिथिलता तथा बढ्दो प्रतिस्पर्धाकाबीच पनि बैंकको निक्षेप संकलन तथा कर्जा सापटी तर्फको वृद्वि सन्तोषजनक रहेको बैंकले जनाएको छ ।
यस अवधिमा बैंकले मुलुकभर विभिन्न स्थानमा गरेर २४ थप नयाँ शाखाहरू विस्तार गरेको जनाएको छ ।
