
बलिउड अभिनेत्रीहरू काजोल, नेहा धुपिया, श्रुति हसनद्वारा अभिनीत फिल्म ‘देवी’लाई चोरीको आरोप लागेको छ।
समाचारअनुसार एसियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजनका विद्यार्थी अभिषेक रायले चोरीको आरोप लगाएका हुन्। अभिषेकले आफ्नो सर्ट फिल्म ‘फोर’सँग देवीको कथावस्तु मिलेको भन्दै चोरीको आरोप लगाए।
अभिषेकका अनुसार दुई वर्षअघि फिल्मको विद्यार्थी भएका बेला अन्डा करी प्रोडक्सनले सर्ट फिल्म ‘फोर’ बनाएको थियो। फिल्मको मुख्य थिम बलात्कारपीडितको सामना अर्का पीडितहरूसँग हुने गर्छ। फिल्म ‘देवी’ पनि उही कथावस्तुमा आधारित रहेर बनाएको देखिन्छ, उनले फेसबुकमा लेखेका छन्।
उनले अर्काको आइडियालाई कसैले कसरी आफ्नो भन्न सक्छ ? भन्दै प्रश्नसमेत तेस्र्याएका छन्। ‘हामी विद्यार्थी भएका बेला बनाइएको फिल्ममा पक्कै पनि कमी छ तर त्यो हाम्रो आफ्नो कल्पना थियो। अर्काको आइडियालाई कपी करेर कसैले कसरी आफ्नो आइडिया भनेर दावा गर्नसक्छ ? ’, अभिषेकको तीखो टिप्पणी छ।
उनले देवीका निर्माताविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने पनि जनाएका छन्। ‘देवी’को लेखन तथा निर्देशन प्रियंका बनर्जीले गरेकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।