२७ असार २०८३, शनिबार

सभामुखसँगको भेटमा भारतीय राजदूतले भने– समस्याहरू छलफलबाट समाधान गर्न सकिन्छ

फागुन २७, २०७६
सभामुखसँगको भेटमा भारतीय राजदूतले भने– समस्याहरू छलफलबाट समाधान गर्न सकिन्छ

सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहान क्वात्राले मंगलवार शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत क्वात्राले सापकोटालाई बधाई ज्ञापन गर्दै नयाँ कार्याकालको शुभकामना व्यक्त गरे । 

भेटमा सभामुख सापकोटाले भारत नेपालको असल छिमेकी भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध प्राकृतिक भएको बताए ।

दुई देशबीच कूटनैतिक सम्बन्ध स्थापना भएको ७३ वर्ष पूरा भएको स्मरण गर्दै सभामुख सापकोटाले नेपाल र भारतबीच सरकार, संसद् र जनस्तरसम्म सम्बन्ध रहेको बताए ।

नेपालमा २०७२ साल वैशाखमा विनाशकारी भूकम्पपछि उद्दार, राहत एवं पुनःनिर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै उनले दुई देशबीच पछिल्लो समय दूरगामी महत्त्वका सम्झौता भएकोमा खुशी व्यक्त गरे ।

साथै, दुई देशबीच केही छलफल गर्नुपर्ने विषय रहेको बताउँदै सभामुख सापकोटाले दुवै देशमा बलियो र स्थायी सरकार रहेकाले सम्बन्ध विस्तारका लागि बिरलै प्राप्त हुने अवसर रहेको चर्चा गरे ।

भारतीय राजदूत क्वात्राले दुई देशबीच व्यापक र गहिरो सम्बन्ध रहेको बताउँदै सभामुख साकोटाको कार्याकालमा यो सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरे । 

उनले शान्ति, विकास र समृद्धि नेपाल–भारत सम्बन्धमा गहिरो स्तम्भ भएको बताउँदै छलफलका माध्यमबाट दुई देशबीचका समस्या समाधान गर्न सकिने उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्