आफू अपहरण परेको नाटक गर्दै फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका छोरा २४ वर्षीय मुकेशकुमार पक्राउ परेका हुन् ।
यही फागुन २३ गते आफू अपहरणमा परेको र सकुशल फिर्ता हुन रु ३० लाख चाहिने सूचनासहित बुबाको मोबाइलमा फोन आएको भनी जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो ।
छोराको मायाले बुबा शिवनारायणले रु २१ लाख फिरौती दिएपनि अनुसन्धानबाट अपहरणको नाटक रच्ने मुकेशलाई प्रहरीले फागुन २६ गते सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो ।
फिरौती रकमसहित बूढीगंगा गाउँपालिका–३ निवासी हरिप्रसाद राजवंशीका छोरा २५ वर्षीय कृष्ण राजवंशीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
अपहरणको नाटक गर्ने योजनाकारसहित कृष्ण राजवंशीलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकारसमक्ष सार्वजनिक गरेपछि सबै तथ्य बाहिर आएको हो ।
प्रहरीले कृष्णबाट नगद रु १६ लाख ५३ हजार र रु तीन लाखको चेक पनि बरामद गरी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।