२३ जेठ २०८३, शनिबार

उत्कृष्ट कार्य गर्न नसकेका ७४ प्रहरीलाई सुधारात्मक तालिम

चैत १, २०७६
उत्कृष्ट कार्य गर्न नसकेका ७४ प्रहरीलाई सुधारात्मक तालिम

महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुर तथा मातहत रहेका सादा पोसाकमा खटिने ७४ प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी गणमा पठाइएको छ।

उल्लेखनीय कार्य गर्न नसकेका १७ अधिकृत ५७ जवानसमेत ७४ अधिकृत तथा जवानलाई तोकिएको सादा पोसाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्ज पठाइएको हो। 

प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लाञ्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्य गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

आचरण व्यवहार सुधारको हिसाबले पठाइएका अधिकृत तथा जवानलाई महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा सातदिने सुधारात्मक तालिमसमेत दिइने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। 

यसअघि नै कार्यालयले हरेक महिना उपत्यकाका प्रहरीको आचरण, व्यवहार, कार्यशैली र सेवाका बारेमा मूल्याङ्कन गर्दै आएको छ। मूल्याङ्कनमा असफल हुने र प्रहरीको नियमभन्दा बाहिर गएर काम गर्नेलाई कारवाहीसमेत गर्न थालिएको छ।

उनले सादा पोसाकमा कार्यरत रहेका प्रहरी अधिकृत तथा जवानलाई प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालन गरिने जानकारी दिए। यसरी मूल्याङ्कनका लागि कार्यालयले प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा समूह नै गठन गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्