
पश्चिम नवलपरासीसँग जोडिएका भारतका सीमानाका शनिवारदेखि बन्द गरिएका छन् ।
पश्चिम जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका छन् । अत्यावश्यक कामबाहेक आवतजावत गर्ने दुवै देशका नागरिकलाई आवतजावतमा रोक लगाइएको छ ।
कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन जिल्लाका प्रमुख ४ नाकासहित सहायक नाका समेत बन्द गरिएको छ । भारतले समेत नाकामा आवतजावतमा कडाइ गरेपछि शनिवारदेखि नेपालतर्फका नाका बन्द गरिएको हो ।
सबै गाउँपालिका भारतको सीमानासँग जोडिएका छन् । नवलपरासी जिल्ला भारतको उत्तर प्रदेश र बिहारसँग जोडिएको छ । भारततर्फ अत्यावश्यक काम भएर जाने नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमानाकामा स्वास्थ्य परीक्षण गरेर जान दिएका छन् ।
नेपाल आउने भारतीयलाई कामको प्रकृति सोधेर मात्र नेपाल आउन दिएको छ । नेपाल आउने नेपालीलाई भने भारतीय सुरक्षाकर्मीले निर्वाध आउन दिएका छन् ।
नेपाली सुरक्षाकर्मीले भने औषधि उपचार, विवाह लगायतका अत्यावश्यक कामबाहेक भारत जाने नेपालीलाई रोक लगाएका छन् । भारतबाट आउने नेपालीलाई सीमा नाकामा रहेका हेल्थ डेस्कमा परीक्षण गरेर मात्र आउन दिइएको छ । दुवै देशले अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधनमा समेत रोक लगाएका छन् ।
भारतमा संक्रमण देखिएपछि नाकाबाट आवतजावत हुँदा कुनै पनि बेला भित्रिन सक्ने भएकाले सजगता अपनाउन दुवै देशका नागरिकलाई आवतजावतमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।
‘नेपालीलाई अत्यावश्यक कामबाहेक भारत जान पूर्ण रोक लगाएका छौं । भारतीयहरूलाई भने आफ्नो देशमा जान दिइएको छ तर उनीहरू प्रमुख नाका भएर मात्र जाने गरी व्यवस्था मिलाएका छौं,’ प्रजिअ दाहालले भने ।