
कोरोनाभाइरसका कारण संसारभरि मानिस समस्यामा परेका छन् । यसको संक्रमण र यसकारण मर्नेको संख्या दिनदिनै बढिरहेको छ ।
शहरहरू मात्र नभई देशै लकडाउन भइरहेका छन् । हजारौं मानिस क्वारेन्टाइनमा छन् । अर्थतन्त्रमा नराम्रो असर परेको छ र अनेकौं मानिसको रोजगारी गुमेको छ ।
यी सबै समस्या भए पनि केही सकारात्मक परिवर्तन पनि यसबीचमा देखिएका छन् ।
प्रदूषणमा कमी
अनेकौं देशमा लकडाउनका कारण प्रदूषणको स्तरमा कमी आएको छ ।
चीन र उत्तरी इटली दुवै ठाउँमा वायु प्रदूषणको गम्भीर कारक नाइट्रोजन डाइअक्साइडमा भारी कमी आएको छ । औद्योगिक कारखाना बन्द हुनु अनि सडकमा कारहरू कम गुड्नु यसको प्रमुख कारण हो ।
न्युयोर्कमा पनि पोहोर सालको तुलनामा यस वर्ष कार्बन मोनोअक्साइडमा ५० प्रतिशत कमी आएको छ । त्यो मुख्य रूपमा कारबाट निस्कन्छ ।
हवाई यात्रामा रोक लगाइएपछि उडानहरू रद्द गरिएका छन् । लाखौं मानिस घरैबाट काम गरिरहेका छन् । आगामी केही दिनमा संसारभरि यही स्थिति रहने बताइएको छ ।
पानीको गुणस्तरमा परिवर्तन
भेनिसमा बस्ने मानिसहरूका अनुसार, शहरका नहररूको पानीको गुणस्तरमा सुधार आएको छ ।
कोरोनाका कारण उत्तरी इटलीका पर्यटकमैत्री सडकहरू लगभग खाली भएका छन् । पर्यटकहरू नआएका कारण वाटर ट्राफिक कम भएको छ र पानी सफा भएको छ ।
प्रायः मैलो देखिने पानी सफा भएपछि माछा पनि देखिन थालेका छन् ।
सहायता समूह
न्युयोर्कमा दुई मानिसले ७२ घन्टामा १३ सय स्वयंसेवी तयार पारेका छन् र वृद्ध तथा जोखिममा परेकाहरूलाई घरेलु सामान र औषधि घर पुर्याउने काम गरिरहेको छ ।
फेसबूकका अनुसार, बेलायतमा हजारौं मानिसलाई कोरोनाभाइरसको सामना गर्न स्थानीय सहायता समूहमा जोडिएका छन् । यस्ता समूह क्यानडामा पनि बनेका छन् ।
अस्ट्रेलियामा सुपरमार्केटमा वृद्धहरूका लागि किनमेललाई फरक समय छुट्ट्याइएको छ । वृद्धहरू र अपांगहरूलाई सामान किन्न समस्या नहोस् भनी यसो गरिएको हो ।
धेरै मानिस यस समस्याबाट निस्कनका लागि चन्दा दिइरहेका छन् । केही मानिस आइसोलेसनमा रहेका वृद्धको सहायताका लागि रेसिपी शेयर गरेका छन्, केहीले आइडिया शेयर गरे अनि केही मानिसले आफ्नो पसलबाट खानेकुरा बाँडिरहेका छन् ।
सिर्जनात्मकता बढ्यो
भाइरसका कारण घरैमा थुनिएकाहरूले सिर्जनात्मकता देखाइरहेका छन् ।
सामाजिक सञ्जालमा मानिसहरूले किताब पढ्ने, खाना पकाउने र पेन्टिङ गर्ने लगायत काम थालेको शेयर गरेका छन् ।
वाशिङटनको डीसी सार्वजनिक पुस्तकालयले भर्चुअल बूक क्लब शुरू गरेको छ । इटलीका प्रसिद्ध शेफ मास्सिमो बोटुराले इन्स्टाग्राममा विशेष शृंखला शुरू गरेर किचन क्वारेन्टाइन नाम दिएका छन् । त्यसमा उनले मानिसहरूलाई सहज रेसिपीहरू सिकाएका छन् ।
अमेरिकाको टेनेसी राज्यमा एक कला शिक्षकले बच्चाहरूका लागि लाइभ स्ट्रीमिङ क्लास शुरू गरेका छन् । घरैमा थुनिएका बच्चाहरूले त्यसबाट लाभ लिइरहेका छन् ।