२० असार २०८३, शनिबार

६१ वर्षे इतिहासमा पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

चैत १०, २०७६
६१ वर्षे इतिहासमा पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

नेपाली हवाई उड्डयनको ६१ वर्षे इतिहासमा पहिलोपटक सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आइतबार राति १२ बजेदेखि १८ चैतसम्म अन्तर्राष्ट्रिय उडान–अवतरणमा रोक लगाएको हो । 

नेपालले ०१५ सालदेखि अन्तर्राष्ट्रिय उडान थालेको हो । भूकम्प र ठुल्ठूला आन्दोलनका वेलासमेत अन्तर्राष्ट्रिय उडानमा रोक लागेको इतिहास छैन । सरकारको निर्णयले विभिन्न कामको सिलसिलामा नेपालमा रहेका १० हजार विदेशी नागरिक पनि स्वदेश फर्कन पाउने छैनन् । विदेशमा रहेको लाखौँ नेपाली पनि स्वदेश फर्कन पाउने छैनन् । 

सरकारको निर्देशनपछि एयरलाइन्स कम्पनीहरूले हवाई भाडाको अधिकतम मूल्य ३६ प्रतिशतसम्म घटाएका छन् । आन्तरिक उडानका तीन ठूला एयरलाइन्स कम्पनीले सबै क्षेत्रको अधिकतम भाडादर घटाएर सार्वजनिक गरेका छन् । 

कोरोना भाइरस सन्त्रासका कारण काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेपछि एयलाइन्स कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडा लिन थालेका थिए । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार तत्कालका लागि अधिकतमको सीमा घटाएर भाडा तोक्न निर्देशन दिएका थिए । एयरलाइन्स कम्पनीहरूले आइतबार नयाँ भाडादर तोकेका हुन् । 

व्यवसायीले लिएको भाडा सरकारले नै तोकेको सीमाभित्रै रहे पनि जनतामा मार परेको गुनासो आएपछि सबै एयरलाइन्सले भाडादर घटाएको वायुसेवा सञ्चालक संघ (आयोन)का प्रवक्ता योगराज कँडेलले बताए । घटाइएको भाडादर सोमबारदेखि नै कार्यान्वयनमा जाने एयरलाइन्स कम्पनीहरूले जनाएका छन् । 

वायुसेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गर्दै विराटनगरको अधिकतम भाडा पाँच हजार पाँच सय कायम गरिएको जनाएको छ । अहिले विमान कम्पनीले सात हजार नौ सयसम्म लिँदै आएका थिए । त्यस्तै, ६ हजार पाँच सय ४० अधिकतम भाडा रहेको राजविराजका लागि चार हजार दुई सय र नौ हजार आठ सय भाडादर रहेको भद्रपुरका लागि ६ हजार दुई सय नयाँ भाडा तोकिएको छ । 

त्यस्तै, १० हजार ६ सय भाडा रहेको नेपालगन्जका लागि ६ हजार तीन सय र धनगढीका लागि सात हजार नौ सय तोकेको छ । यसअघि धनगढीका लागि एयरलाइन्स कम्पनीहरूले १४ हजारसम्म भाडा लिने गरेका थिए । पाँच हजार तीन सय अधिकतम भाडा रहेको पोखराको अब तीन हजार सात सय नयाँ भाडा तोकिएको छ । ‘यो भाडादर चैत २१ गतेसम्म लागू हुनेछ,’ संघको विज्ञप्तिमा भनिएको छ । 

कस्ता एयरलाइन्स नेपाल आउन पाउँछन् ? 

अन्तर्राष्ट्रिय उडानमा रोक लगाइए पनि आकस्मिक सेवासहितका एयरलाइन्सले भने नेपाल आउन पाउने छन् । त्यस्तै, विदेशमा रहेका नेपालीको पनि उद्धार गर्न सकिने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । उनका अनुसार नेपालमा अझै १० हजार विदेशी नागरिक रहेको अनुमान छ । सरकारले गत सातादेखि पर्यटक भिसामा आउन ५५ देशलाई रोक लगाएको छ । 

‘विदेशीलाई कुनै देशले खाली जहाज ल्याएर उद्धार गर्न पाउनेछन्,’ क्षेत्रीले भने, ‘त्यस्तो उडान रोकिनेछैन ।’ एयरएम्बुलेन्स, कार्गो उडानमा पनि रोक नलाग्ने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकीय सिजनमा दैनिक एक सय २० उडान–अवतरण हुने गरेको थियो । दैनिक १४ हजार हवाई यात्रुले सेवा लिने गरेका थिए ।  नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्