
राहत पाउने खबरले ज्यालादारी मजदुरहरू खुशी, फारम भर्न वडा कार्यालयमा ठेलमठेल !
राम्रोसँग बोल्न पनि नसक्ने एक वृद्ध हातमा सरकारले बाँड्न लागेको राहतको फारम बोकेर काठमाडौं महानगरपालिका वडा नम्बर ३० को कार्यालयअगाडि बसिरहेका थिए ।
त्यसको केही समयपछि एकजना अधबैंसे महिला आइन् र उनको फारम भरिदिइन् ।
ती वृद्ध आफ्नी श्रीमतीसँग मैतिदेवी मन्दिरको छेउमा विगत ७/८ वर्षदेखि मागेर गुजारा चलाउँदै आएका रहेछन् ।
त्यहाँ मागेर खाने भन्दा अर्को विकल्प उनीहरूसँग नरहेको ज्ञानेश्वरकी मायादेवी खत्रीले बताइन् ।
‘उहाँहरू धेरै वर्ष भयो मन्दिरको छेउमा मागेरै जीविकोपार्जन गर्दै आएनुभएको छ, उहाँहरूको घर कहाँ होे भन्ने कुरा भन्न पनि सक्नुहुन्न,’ खत्रीले लोकान्तसँग भनिन् ।

मन्दिरमा बस्ने ती वृद्ध दम्पत्तिलाई खत्रीले नै सरकारले दिन लागेको राहतको फारम भर्न लगाएकी रहिछन् ।
अन्य समयमा पनि सरकारले बाँड्ने राहत उपलब्ध गराउँदै आएको विपत व्यवस्थापन समिति उपाध्यक्ष समेत रहेकी खत्रीले बताइन् ।
लकडाउनको समयमा खत्रीले नै ती दम्पत्तिलाई खाना खुवाउँदै आएकी रहिछन् ।
****
ब्रह्मटोल घर भएकी लक्ष्मी प्रजापति पनि ज्ञानेश्वरस्थित ३० नम्बर वडा कार्यालय अगाडि राहतका लागि फारम भर्न लेख्न जान्ने कोही मानिस भेटिन्छ कि भनेर यताउता गरिरहेकी थिइन् ।
विगत ४/५ वर्षदेखि ज्ञानेश्वरमा बस्दै आएकी प्रजापतिले ज्ञानेश्वरका २ वटा घरमा घरेलु श्रमिकको काम गर्दै आएकी थिइन् । कोरोनाको संक्रमण फैलिने डरपछि घरपतिहरूले काम नआउनू भने, उनी बेरोजगार भइन् ।

‘कोरोना आएपछि काम गर्ने घरबेटीले नआउनु भनेपछि १ महिनादेखि बेरोजगार भएकी छु । हातमुख जोर्न पनि समस्या छ । केही दिन ढुङ्गा बोकेर गुजारा चलाएँ, अहिले त्यो पनि बन्द भएपछि झनै गाह्रो भयो,’ प्रजापतिले लोकान्तरसँग भनिन् ।
घरमा बूढी आमा मात्रै रहेकाले आमाको हेरचाहको जिम्मा पनि उनकै काँधमा रहेछ । ‘घरमा जाउँ के लगेर जाउँ समस्या भएकाले काम पाइन्छ कि भनेर यतै बसिराखेको छु,’ उनले भनिन् ।
सरकारले राहत दिने खबरले खुशी उनी कति समयका लागि दिने हो भन्नेमा भने अन्योलमा छिन् ।
‘अब त सरकारले राहत दिन्छ भनेर आएको, दुःखको बेलामा सरकारले हामीलाई अलिकति भएपनि खुशी दिएको छ, तर धेरै दिन बन्द भयो भने सधैं त दिँदैन होला,’ उनले अन्योल व्यक्त गरिन् ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने दैनिक ज्यालादारी विपन्न, असक्त र असाहयहरूलाई पहिचान गरी घरपतिको हस्ताक्षरमा राहत उपलब्ध गराइने ३० नम्बर वडा कार्यालयले जनाएको छ ।
लगत संकलन गरिसकेपछि फोन गरेर राहत घरमै उपलब्ध गराउने ३० नम्बर वडा कार्यालयका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए ।

जिल्ला प्रशासन र वडा कार्यालयमा भीड
आजदेखि सरकारले वितरण गरेको राहतका लागि वडा कार्यालयहरूले लगत संकलन गर्न लागेका छन्, तर लगत संकलन गर्ने वडा कार्यालयहरूमा भीड व्यवस्थापनमा भने ध्यान दिइएको छैन ।
कोरोनाको संक्रमण फैलिनसक्ने भएकाले निश्चित दूरी कायम गरेर मात्र जम्मा हुन मिल्छ, त्यसतर्फ कसैको ध्यान गएको देखिन्न ।
वडा त वडा भयो जिल्ला प्रशासन कार्यालय अगाडि पनि भीडभाड उस्तै छ । लकडाउनको समयमा सवारी साधन चलाउन मिल्ने पास लिन आउनेको भीड उस्तै देखिन्छ ।
एक मिटर दूरी कायम गरेर लाइन लाग्नुपर्नेमा डिल्लीबजारस्थित २९ नम्बर वडा कार्यालयअगाडि मानिसहरू ठेलमठेल गरिरहेका थिए ।
यस्तै अवस्था ज्ञानेश्वरस्थित ३० नम्बर वडा कार्यालय अगाडि पनि थियो ।
२९ नम्बर वडा कार्यालयअगाडि कार्यरत प्रहरीले भीड व्यवस्थापन त गरेका थिए तर ३० नम्बर वडा कार्यालमा भने भीडभाड उस्तै थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असंगठित क्षेत्रका दैनिक ज्यालादारी र श्रमिक तथा मजदुरका लागि राहत घोषणा गरेको थियो । सरकारले राहत दिनुपर्ने परिवार पहिचान गरी असंगठित क्षेत्रका श्रमिकको लगत तयार पार्न स्थानीय तहहरूलाई जिम्मा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।
स्थानीय तहमार्फत ‘लकडाउन’को अवधिभरलाई पुग्ने गरी खाद्यान्नसहित राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो ।
गर्भवती, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी र टुहुरा बालबालिकाका लागि सरकारले विशेष हेरचाह गर्ने जनाएको छ ।
औपचारिक क्षेत्रका मजदुरलाई रोजगारदाताले नै पारिश्रमिक उपलब्ध गराउने, पूर्णरूपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले दैनिक र महिनावारी ज्यालादारीमा कार्यरत कर्मचारीलाई २०७६ चैत महिनाको पारिश्रमिक पूर्ववत् भुक्तानी दिने निर्णय समेत सरकारले गरेको थियो ।

हेर्नुहोस्, भिडियो :