मुस्ताङ, ९ वैशाख– मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर दर्शन गरेर सदरमुकाम जोमसोमतर्फ आउँदै गरेको तीर्थयात्री सवार ना ५ ख ६०६७ नम्बरको बस मुस्ताङको कागवेनीमा दुर्घटनाग्रस्त हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बसमा ३५ जना सवार थिए । बस ग्राभेल सडकबाट उछिट्टिएर करिब ६० मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिक्टरबाट पोखरा ल्याउने तयारी भइरहेको जनाइएको छ ।