२८ जेठ २०८३, बिहीबार

कानूनमन्त्री भण्डारी कालीकोटबाट ‘थ्रोट स्वाब’ लिएर सुर्खेतमा

चैत २४, २०७६
कानूनमन्त्री भण्डारी कालीकोटबाट ‘थ्रोट स्वाब’ लिएर सुर्खेतमा

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी पाँच जनाको ‘थ्रोट स्वाब’ लिएर सुर्खेत फर्किएका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएका कानूनमन्त्री भण्डारी बैठक सम्पन्नपश्चात् सोमबार पाँच जनाको ‘थ्रोट स्वाब’ लिएर सुर्खेत फर्किएका हुन्। 

मलेसियाबाट आएका सान्नी त्रिवेणी गाउँपालिका–१ कालीकोटका एक, वडा नम्बर २ का एक, कतारबाट आएका सोही गाउँपालिका वडा नं ४ का दुई र कैलालीदेखि आएका शुभकालिका गाउँपालिका–३ कालीकोटका एकजनाको ‘थ्रोट स्वाब’ लिएर मन्त्री भण्डारी फर्किएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी कटक महतले जानकारी दिए।

‘ सरकारले विदेशबाट आएका नागरिकको ‘थ्रोट स्वाब’ अनिवार्य जाँच गर्ने निर्देशनानुसार सङ्कलन गरेर मन्त्रीकै सहयोगमा सुर्खेत पठाएका छौँ,’ अधिकृत महतले भने, ‘१४ दिन पुगेकाले सबैजना अहिले घर फर्के पनि परीक्षणको रिपोर्ट नआउन्जेल होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ।’ कालीकोटभरि १६५ पुरुष र ११ महिला गरी १७६ लाई क्वारेन्टाइनमा राखिएकामा १४ दिन पूरा भइसकेकालाई घर फर्काउँदा हाल २९ जनालाई क्वारेन्टाइनमा राखिएको उनले बताए।

कानूनमन्त्री भण्डारीले ‘कोभिड–१९’को प्रतिकार्य, रोकथाम र नियन्त्रणार्थ जिल्ला तथा स्थानीय तहको कार्यान्वयन अवस्थाबारे बुझ्न आइतबार दैलेख, कालीकोट हुँदै जुम्ला पुगेका थिए। 

कालीकोटको विपद् व्यवस्थापन समितिको बैठकबाट जिल्लाको हालसम्मको अवस्था सामान्य रहेको उनले बताए। कर्णाली प्रदेशको ।राजधानीस्थित प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण ल्याब भएकाले ‘थ्रोट स्वाब’ परीक्षणका लागि आफैले साथमै लिएर आएको उनले जनाए।   

salt training

कमेन्ट गर्नुहोस्