
उपप्रधानमन्त्री तथा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले शुक्रवार र शनिवार काठमाडौँबाट सर्वसाधारणलाई जान दिने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।
बिहीवार दिउँसो अचानक सञ्चारमाध्यमहरूमा सर्वसाधारणलाई काठमाडौँबाहिर जान दिने निर्णय भएको भनी आएको समाचार गलत रहेको पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।
‘भोलि र पर्सि ( २८-२९ चैत्र, २०७६ ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको भन्ने समाचार सार्वजनिक सञ्चारमाध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ पोखरेलले लेखेका छन्, ‘यस किसिमको कुनै निर्णय नभएको, कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसूस गरी बन्दाबन्दी (लक डाउन)लाई जारी राखिएको छ ।’
उनले गम्भीर अवस्थामा यस्तो निर्णय कसरी हुन सक्छ भनेर प्रश्नसमेत गरेका छन् ।
यसै सन्दर्भमा गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले लोकान्तरलाई काठमाडौँबाट जान चाहनेहरूलाई जान दिने विषयमा कुनै अधिकारिक निर्णय नभएको बताए । 'हामीले निर्णय पनि गरेका छैनौ र माथिबाट पनि हामीलाई त्यस्तो केही आदेश आएको छैन,' उनले भने ।
यसअघि अधिकांश सञ्चारमाध्यमहरूले काठमाडौँ बाहिर जान चाहनेलाई पठाउने आधिकारिक निर्णय भएको समाचार प्रकाशित गरेका थिए । लोकान्तर डट कमचाहिँ उक्त समाचारको पुष्ट्याईको क्रममा थियो ।
हेर्नुहोस् गृहमन्त्रालयको विज्ञप्ति -
