२२ असार २०८३, सोमबार

लकडाउनः फोटो डायरी

लकडाउनः फोटो डायरी

नवराज श्रेष्ठ–

विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट बच्ने एउटै उपाय हो, लकडाउन अर्थात बन्दाबन्दी । आम रुपमा संक्रमणबाट बच्न र कोरोनाभाइरसको संक्रमण फैलिन नदिनको लागि यसको विकल्प छैन । विश्व नै लकडाउनमय भएको छ । मानिसहरु घरको चौघेरामा थुनिएका छन् । 

नेपालमा पनि कोरोना संक्रमित देखिने वित्तिकै सरकारले देशलाई लकडाउन गरेको छ । लकडाउन तेस्रो हप्तामा चल्दैछ । विभिन्न पेशाकर्मी, व्यवसायी मात्र होइन, बालबच्चदेखि वृद्धवृद्धासम्म घरमै बसेका छन् र बस्नुको विकल्प पनि छैन । यसरी घरमा बस्ने धेरै पेशाकर्मी व्यवसायीहरुले आ–आफ्नै तरिकाले समय विताइरहेका छन् ।

म पेशाले फोटो पत्रकार हुँ । मेरो दैनिकी सडक र घर (फ्लाट) दुवैमा बित्ने नै भयो । तर लकडाउनको पहिलो साता नबित्दै अहिले मेरो दैनिकी घरको चौघेरा भित्रै खुम्चिएको छ । सडकमा अति आवश्यक नपरी ननिस्कने अभिप्रायले घरमै छु । 

तर घरमा बस्दा मैले अहिले नयाँ अनुभव गरिरहेको छु । घरको चौघेराबाट वरीपरी नियालिरहेको छु ।  घरबाट देखिने दृष्यहरु मनोरम लाग्न थालेको छ । सबैमा पेशागत गुण जता जसरी बसे पनि प्रकट हुन्छ होला । त्यसैले घरबाट देखिएका चराचुरुङ्गी, पूतली र किराहरुको गतिविधिले छोएको छ । अचेल मेरो दैनिकी यिनीहरुसंग रमाउने र क्यामेरामा कैद गर्नेमा बदलिएको छ ।

काठमाण्डौका रैथाने चराचुरुङ्गी, पुतली र गोधुली साँझमा बास बस्न उडेका चराहरुलाई सूर्यास्तका सिन्दुरी रंगमा मिश्रित गरेर क्यामेरामा कैद गर्न पाइरहेको छु । काठमाण्डौको कोलाहाल र मानिसको भिडबाट अभ्यस्त भएका चराहरु मेरो क्यामेरा अगाडि आएर बस्दा मलाई नै फोटो पोज दिए जस्तो लाग्छ । लकडाउनको तेस्रो साता चल्दै गर्दा केही तस्वीरहरु घरको चौघेराबाट लिएको हुँ । 

अन्धकारमा पनि आफूलाई स्वतन्त्र र निडर भएर रातमा मेरै घर वरिपरी आएर बस्ने लाटोकोसेरोलाई बल्ल मैले देख्ने मौका पाए, क्यामेरामा कैद गर्ने फुर्सद पाएँ । तस्वीरमा देखाए जस्तो कति स्वतन्त्र छ, पंक्षीहरु । 

वसन्तमा फूलेको फूलमा बसेको माहुरी, साँझ पर्दै गर्दा बास बस्न उडेका पंक्षी, सूर्यास्त, चर्को घाममा उडेका पुतली, पूर्णिमामा उदाएका चन्द्रमा, मध्यरातमा टोलाएको लाटोकोसेरो लगायतका तस्वीरहरु। लकडाउनमा फोटो डायरी ।  

 

 

salt training

कमेन्ट गर्नुहोस्