२१ असार २०८३, आइतबार

कोरोना संकटको बेलामा हेलीकप्टर मनीको चर्चा, के हो यो ?

बैशाख १, २०७७
कोरोना संकटको बेलामा हेलीकप्टर मनीको चर्चा, के हो यो ?

कल्पना गर्नुस्, कोरोनाभाइरसका कारण तपाईं घरैमा थुनिएर बसिरहनुभएको छ अनि छतबाट हेर्दा हेलिकप्टरबाट पैसा खसाइएको देख्नुभयो । 

अर्थशास्त्रीहरू यस काल्पनिक स्थितिलाई हेलीकप्टर मनी वा मोनेटरी हेलिकप्टर भन्छन् । 

आर्थिक संकट गहिरिँदै जाँदा राज्यले सित्तैमा पैसा बाँड्छ अनि पैसा पाएका मानिसले खर्च तथा उपभोग बढाउँछन् र अर्थव्यवस्था सुध्रिन्छ भन्ने अपेक्षा राखिन्छ । यसैलाई हेलीकप्टर मनी भनिन्छ ।

झट्ट हेर्दा महामारी चलिरहेको बेलामा मानिसहरूलाई बचाउनका लागि सरकारका तर्फबाट आर्थिक सहायता दिइएको हो जस्तो लाग्छ तर वास्तविकता अर्कै छ । 

अमेरिकाका प्रख्यात अर्थशास्त्री मिल्टन फ्रीडम्यानले सन् १९६९ मा हेलिकप्टर मनीलाई यसरी बुझाएका थिए, ‘केन्द्रीय बैंकले नोट छाप्छ अनि सरकारले त्यसलाई खर्च गर्छ ।’

आर्थिक संकट चरममा पुग्दा अन्तिम विकल्प यही भएको अर्थशास्त्रीहरू बताउँछन् । 

तर विगत हेर्दा हेलीकप्टर मनीको सहारा लिएको परिणाम नराम्रो पाइएको छ । 

जिम्बाब्वे र भेनेजुएलामा हेलीकप्टर मनी भन्दै बेस्सरी नोट छापियो र तिनीहरूको मूल्यै रहेन । 

डलर र युरो अपनाउने विकसित देशहरूमा केन्द्रीय बैंकले नोट छाप्ने कुरा दुःस्वप्न जस्तो लाग्छ । 

तर कोरोनाभाइरसको महामारीका बेलामा यो विकल्प ठीक छ भनी केही विशेषज्ञहरूले राय दिएका छन् । 

स्पेनमा एक बिजनेस स्कूलमा फाइनान्सियल स्टडी डिपार्टमेन्टका निर्देशक म्यानुएल रोमेरा भन्छन्, ‘हेलीकप्टर मनीको नीतिसँग केन्द्रीय बैंकहरूलाई डर लाग्छ । 

‘अर्थतन्त्रमा पैसा खन्याउँदा मानिसहरूलाई पैसाप्रति विश्वास हुँदैन र परिणामस्वरूप मुद्रास्फीति हुन्छ ।’

तर कोरोना महामारीका बेलामा पैसा बाँड्नु सही हुँदैन त ? 

रोमेरा भन्छन्, ‘यस्तो परिस्थितिमा म के गर्थें भन्न सक्दिनँ । कोरोनाको उपचार एक महिनामा आयो भने हेलीकप्टर मनी गलत निर्णय हुनेछ । तर मे महिनाको अन्तिमसम्म महामारीको प्रकोप कायम रह्यो भने हामीहरू कंगाल हुन्छौं । महामारी केही समय गयो भने यसको सहारा लिन सकिन्छ ।’ 

केही अर्थशास्त्रीले हेलीकप्टर मनीको नीतिलाई थप लचिलो बनाउन सकिने बताएका छन् ।

केन्द्रीय बैंकहरूसँग संकटकालीन खर्चका लागि रकम प्रबन्ध गर्नुपर्ने जिम्मेवारी हुन्छ । तरलता प्रवाह बढाउनका लागि अन्य उपाय पनि छन् तर ती अलिक जटिल छन् ।

केही मानिस चाहिँ युरोप र अमेरिकामा आर्थिक मन्दीको प्रभाव कम गर्नका लागि अहिले उठाइएका कदम एक प्रकारले हेलीकप्टर मनी नै भएको बताउँछन् । करछुट दिनुको अर्थ नै मानिसले बढी रकम खर्च गरून् भन्ने हो ।
 

salt training

कमेन्ट गर्नुहोस्